Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


कांग्रेसकाे देउवा समूहले आज पत्रकार सम्मेलन गर्दै

थापा समूह भने आधिकारिकता दावी गर्न निर्वाचन आयोगमा जाँदै

351
Shares

काठमाडाैं। नेपाली कांग्रेसका दुई समूहले शुक्रबार दिउँसो २ बजे छुट्टाछुट्टै कार्यक्रम राखेका छन् ।

१४ औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिले पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्ने भएकााे हाे । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आयोजना गर्ने पत्रकार सम्मेलनमा सहभागी हुन पत्रकारहरूलाई आग्रह गर्नुभयाे ।

अर्कोतर्फ गत पुस २७ देखि ३० गतेसम्म विशेष महाधिवेशन गर्दै १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका गगन थापालाई सर्वसम्मत सभापति चुनेको समूह आफूहरूलाई आधिकारिक दावी गर्न आग्रहका लागि कागजातसहित निर्वाचन आयोगमा जाने भएकाे छ ।

शुक्रबार २ बजे कांग्रेसका नवनिर्वाचित सभापति गगन थापालगायत सम्पूर्ण केन्द्रीय सदस्यहरूलाई चुनाव चिन्ह लगायतको विषयमा छलफलको लागि निर्वाचन आयोगमा बैठकको लागि बोलाइएको हुँदा सबैलाई उपस्थितिका लागि अनुरोध गरिएकाे छ। विशेष महाधिवेशनको जनपरिचालन समितिका सदस्यसचिव सुसन वैद्यले एक विज्ञप्ति जारी गर्दै जानकारी गराउनुभएकाे हाे ।

महामन्त्री थापा र विश्वप्रकाश शर्माको अगुवाइमा भएको विशेष महाधिवेशनलाई संस्थापनले मान्यता दिएको छैन । केन्द्रीय कार्यसमितिको निर्णयबिना विशेष महाधिवेशन हुन नसक्ने संस्थापनको तर्क छ । तर, गगन समूहले भने आफूहरूले विधानअनुसार विशेष महाधिवेशन गरेको भन्दै आफूहरूले आधिकारिकता पाउनु पर्ने दावी गर्दै आएको हाे ।