Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


रास्वपा बलियो राष्ट्रिय शक्ति बन्नसक्ने विश्लेषकको टिप्पणी (भिडियाे रिपाेर्ट)

आगामी फागुन-२१ मा: नयाँ र पुराना राजनीतिक दलबीच शक्ति परीक्षण !

351
Shares

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्णायक राष्ट्रिय शक्ति बन्ने दौडमा होमिएको छ ।

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीसमेत रास्वपामा समाहित भएपछि रास्वपा राष्ट्रिय शक्ति बन्ने बलियो आधार तय भएको हाे । जसले पुराना दलहरुलाई झस्काएको छ भने नयाँ दलहरुलाई थप हौस्याएको छन् । निर्वाचन नजिकिंदै गर्दा भइरहेको यो तालमेल मुलुकको राजनीतिमा उथलपुथलकारी सावित हुने विश्लेषण भइरहेको छ।

पुराना राजनीतिक दल र तीनका नेताहरुले पाएको अवसरको सदुपयोग गर्नुको सट्टा ब्यक्तिगत र पार्टीगत स्वार्थमा अधिकारको दुरुपयोग गरेपछि मुलुकले नयाँ राजनीतिक शक्तिको खोजी गर्नु स्वभाविक हो । पुराना दलहरुको गलत अभ्यासका कारण नयाँ वैकल्पिक शक्तिहरु जन्मिने वातावरण बनेको छ। अघिल्लो चुनावमा उदाएका केही ब्यक्ति नयाँ शक्तिहरुबाट पनि पुराना दलहरुले पाठ नसिकेपछि यस पटक वैकल्पिक शक्तिहरु एकजुट भएर अगाडि बढ्ने अवस्था बनेको छ । पुराना दलहरुबाट जनता दिक्क भएको पृष्ठभूमिमा गत चुनाव अघि गठन भएको रवि लामिछाने नेतृत्वको रास्वपाले यस पटक वैकल्फिक शक्ति र ब्यत्तिहरुलाई एक ठाउँमा उभ्याउने अभियान शुरु गरेको छ ।

जेनजी आन्दोलनले ल्याएको उथलपुथलको पृष्ठभूमिमा आगामी फागुनमा ताजा जनादेशका लागि दलहरु चुनावमा जाने निश्चित भएको छ । निर्वाचनको मिति नजिकिदै जाँदा रास्वपाले चुनावी गतिविधिहरु तीव्र बनाइरहेको छ । रास्वपामा बालेनदेखि उनेपाका संरक्षक कुलमान घिसिङसम्म आवद्ध भएपछि आगामी चुनाव निकै रोचक हुने आँकलन गरिएको छ । रास्वपाका नेताद्वय डा. अच्युतम लामिछाने र अशोक चौधरीले पनि चुनावमा पार्टीले राम्राे मतपरिणाम लिनेमा विश्वस्त रहेका छन्।

अर्कोतर्फ, पुराना दलहरुले रास्वपालाई अझै पनि बलियो शक्तिका रुपमा लिन सकिरहेका छैनन् । बलियो संगठन नभएको र बालेन, कुलमानहरु लोकप्रिय पात्र मात्र भएको उनीहरुको विश्लेषण छ । खासगरी नेपाली कांग्रेस र नेकपा एमालेले रास्वपालाई कम आँक्न छाेडेका छैनन् । यी पार्टीका नेताहरुले अहिले पनि आफू र आफ्नो दललाई नै निर्णायक शक्ति मानिरहेका छन् । तर, उनीहरुले ठाने जस्तो अवस्था भने हुने देखिदैन । पुराना दलहरुले मुलुकलाई जसरी विकृति-विसंगतिको खाडलमा हालेमा त्यसकै परिणाम स्वरुप जेनजी आन्दोलन भएको थियो ।

गत भदौमा सडकमा पोखिएको त्यो आक्रोश र असन्तुष्टि जनतामा अझै कायम नै रहेकाे छ । तसर्थ यस पटक नयाँ शक्ति र नयाँ अनुहारतर्फ जनमत नजाला भन्न सकिंदैन । जनभावना बुझेर नै रास्वपाले जनतामा लोकप्रिय पात्रहरुलाई पार्टीमा समेटिरहेको राजनीतिक विश्लेषक डा. कृपाराम विश्वकर्माले बताउनुभयाे।

रास्वपा सभापति रवि , प्रमुख बालेन, संरक्षक कुलमान र जेनजी प्रतिनिधिसँगको एकताले रास्वफालाई सशक्त शत्ति बनाउने विश्लेषण गरिएको छ। यो एकतापछि रास्वपाका समर्थक र शुभेच्छुकहरुमा ब्यापक उत्साह पनि छाएको छ । तर त्यो उत्साह मतको रुपमा कसरी प्रकट हुन्छ भन्ने हेर्न भने फागुन २१ गतेनै पर्खिनु पर्दछ ।

भिडियाे रिपाेर्ट: