Logo १४ पुस २०८२, सोमबार | Mon Dec 29 2025


शितलहरका कारण मधेशमा दलित समुदाय पीडामा: उपराष्ट्रपति यादव


104
Shares

काठमाडाैं। उपराष्ट्रपति रामसहाय यादवले मधेशमा हाल शितलहरका कारण दलित समुदाय पीडामा रहेको बताउनुभएको छ।

राष्ट्रिय दलित आयोगले सोमबार आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । प्राकृतिक विपद्हरुमा दलित समुदाय सबै भन्दा बढी जोखिममा रहने गरेको उहाँको भनाइ छ । यसमा आयोग अभिभावकको भूमिकामा देखिनुपर्नेमा उहाँले जोड दिनुभयो। आयोगले आफैंले सहयोग गर्नसक्ने अवस्थामा सहयोग गर्ने र गर्न नसक्ने अवस्थामा राज्यको ध्यानाकर्षण गराउनुपर्ने उहाँले बताउनुभएकाे छ

सरकारको ध्यान पुग्न नसकेको स्थानहरुमा आयोगले तत्कालै सरकारको ध्यानाकर्षण गराउनुपर्ने उपराष्ट्रपति यादवको भनाइ छ । उहाँले तराई मधेशका दलितहरु अझै शिक्षा, स्वास्थ्य, राजनितिक पहुँचको रेखा भन्दा बाहिर रहेको उल्लेख गर्नुभयो । उनीहरुलाई मूलधारमा ल्याउन आयोगले सक्रियता देखाउन जरुरी रहेको उहाँले बताउनुभयाे । स्वास्थ्य बीमा लगायतका कार्यक्रममा आर्थिक अभाव र जनचेतनाको कमीले धेरै जसो दलित समुदायले लाभ लिन नसकेको पनि उहाँले बताउनुभएकाे छ।

आयोगले यसको लागि जागरुकता अभियानलाई संस्थागत रुपमा अघि बढाउनुपर्नेमा उपराष्ट्रपति यादवले जोड दिनुभयो । उहाँले आयोगलाई दलितलक्षित सिपमुलक तथा रोजगारीमुलक कार्यक्रमहरु विपन्न क्षेत्र र बस्तीमा संचालन गर्न सुझाव समेत दिनुभएकाे छ । उहाँले समाजमा अझैपनि विभिन्न कुऋति, विसंगति र भेदभावका अवशेषहरु रहेकोले त्यसलाई हटाउने चुनौतीहरु रहेको बताउनुभयो ।

दलित-दलितकाबीचमा पनि विभिन्न विभेद र छुवाछुतको अवस्था रहेको उहाँको भनाइ छ । यसलाई हटाउन आयोगले अग्रसरता देखाउनुपर्नेमा उहाँले जोड दिनुभयो। उपराष्ट्रपति यादवले आयोगले तयार पारेको रणनीतिक योजना २०८२/०८७ तथा आयोगको उजुरी व्यवस्थापन प्रणालीलाई कार्यन्वयन गर्न पनि आग्रह गर्नुभएकाे छ।