काठमाडाैं। नेकपा एमालेका नेताहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)को एकताले खासै अर्थ नराख्ने बताएका छन् ।
एमालेका नेताहरुले संचारकर्मीसँग कुरा गर्दै उनीहरुको एकताको ठूलो असर नदेखिने दावी गरेका हुन् । एमालेका नेता मानवीर राईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेनको राजनीतिक मिलन वा विमिलनको कुनै विशेष अर्थ नरहेको बताउनुभयो । उनीहरूको राजनीति नेपाली जनतामा आधारित नदेखिएको भन्दै राईले त्यसले वर्तमान नेपाली राजनीतिक परिवेशमा खासै महत्व नपाउने दावी गर्नुभएकाे छ।
नेता राईले २०७९ सालको स्थानीय तह निर्वाचनमा बालेन निर्वाचित हुँदा जनतामा ठूलो आशा र अपेक्षा रहेको भए पनि बालेनका गतिविधिले ती अपेक्षा पूरा गर्न नसकेको आरोप लगाउनुभयो । काठमाडौं महानगरभित्र भइरहेका अधिकांश सडक तथा पूर्वाधार निर्माण कार्य संघीय सरकारअन्तर्गत सडक विभाग र सडक डिभिजनमार्फत भइरहेको उहाँको दावी छ । प्रमुख बालेनको विकास निर्माणका कार्य अगाडि बढाउन नसकेको उहाँको आरोप छ। विकासका नाममा उहाँले के गर्नुभएको छ भन्दै उहाँले प्रश्न समेत उठाउनुभयो । मकै पोलेर जीविकोपार्जन गर्नेहरूलाई लखेट्ने बाहेक अरु काम नगरेको उहाँको दावी छ।
नेता राईले विभिन्न राजनीतिक कार्यक्रमहरुमा जरिवाना घोषणा गरेर बालेनले ‘स्टन्टबाजी’ मात्रै गरेको आरोप लगाउनुभयो । जेनजी आन्दोलनमा भएको आगजनी तथा हिंसात्मक घटनाकाे समयमा काठमाडौं महानगरले दमकल नपठाएको आरोप लगाउँदै उहाँले यस घटनाले पनि प्रमुख बालेनको विकास र समृद्धिप्रतिको संवेदनशीलता नदिएको उहाँको दावी छ ।
नेता राईले चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमतिलाई हाँस्यास्पद भएको बताउनुभयो । २०६४ सालमा नेकपा माओवादीले पनि पुष्पकमल दाहाललाई भावी राष्ट्रपतिको उम्मेद्वार घोषणा गरेको स्मरण गर्नुभयो । उहाँले दाहाल राष्ट्रपति बन्नुभयो त भन्दै प्रश्न गर्नुभयो । उहाँले बालेन सांसद नै बन्न नसक्ने हो की भन्ने आशंका पनि जनाउनुभएकाे छ। उहाँले रास्वपा सभापति लामिछाने पनि सहकारी ठगी मुद्दामा सबै भन्दा बढी धरौटी बुझाएर निस्किएको पात्र भएको बताउनुभयो । उहाँले जनतको माझमा उहाँहरुले सफलता हासिल गर्न नसक्ने दावी गर्नुभएकाे छ।
त्यस्तै, एमालेका नेता लालबाबु पण्डितले भने राजनीतिक पार्टीहरु मिल्नु राम्रो कुरा भएको बताउनुभयो । नेपालमा राजनीतिक पार्टीहरूको ध्रुवीकरण आवश्यक रहेको उहाँको भनाइ छ । हाल देशमा १ सय ५२ भन्दा बढी राजनीतिक पार्टी रहेको उल्लेख गर्दै उहाँले देशमा पाँच वटा मात्रै पार्टी भए पुग्ने बताउनुभयो । उहाँले सीमित संख्याका राजनीतिक दलबीच प्रतिष्पर्धा भई बहुमतको सरकार बन्नसके मात्र राजनीतिक स्थायित्व, विकास र समृद्धि सम्भव हुने बताउनुभयो । एमाले कुनैपनि राजनीतिक गठबन्धनसँग प्रतिष्पर्धा गर्न तयार रहेको उल्लेख गर्दै नेता पण्डितले कोही पार्टी मिल्दैमा कसैले टाउको दुखाउन आवश्यक नरहेको बताउनुभएकाे छ। कोही एक भयो भन्दैमा अर्को समाप्त हुन्छ भन्ने बुझाइ गतल भएको उहाँको तर्क छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी र बालेनबीच आइतबार बिहान ‘वृहत एकता’ सम्बन्धी सहमतिमा हस्ताक्षर भएको छ । एकता अनुसार बालेन निर्वाचनपछि संसदीय दलका नेता बन्नुहुने भएकाे छ। रास्वपा सभापति लामिछाने सभापतिकै रुपमा रहनुहुने भएकाे हाे। पार्टीको संरचनाको भने सबै रास्वपाको हुनेगरी ७ बुँदे सहमति भएको थियाे।





प्रतिक्रिया दिनुहोस्