Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


अर्घाखाँची र रुकुम पश्चिममा फेला परेका शङ्कास्पद वस्तु सेनाद्वारा डिस्पोज


520
Shares

काठमाडौँ ।

अर्घाखाँची र रुकुम (पश्चिम) जिल्लामा फेला परेका शङ्कास्पद विस्फोटक बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले सुरक्षित रूपमा नष्ट गरेको छ।

अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका–११ स्थित बोक्से इलाकामा सोमबार शङ्कास्पद वस्तु फेला परेको थियो। स्थानीयले देखेपछि सम्बन्धित निकायलाई जानकारी गराएका थिए। घटनास्थलमा पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले ग्रेनेड, प्रेशर कुकर बम र डेटोनेटर सुरक्षित रूपमा डिस्पोज गरेको जनाएको छ।

यसैगरी, रुकुम (पश्चिम)जिल्लाको चौरजहारी नगरपालिका–१, चौरजहारी विमानस्थल नजिक स्थानीयको घरको पर्खाल खन्ने क्रममा अर्को शङ्कास्पद बस्तु फेला परेको थियो। सूचना पाएलगत्तै नेपाली सेना चण्डीदल गणबाट खटिएको बम डिस्पोजल टोलीले उक्त बस्तु सुरक्षित रूपमा नष्ट गरेको हो।

नेपाली सेनाले यस्ता शङ्कास्पद बस्तु फेला परेमा नछुन र तुरुन्तै सुरक्षानिकायलाई जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ। समयमै सूचना प्राप्त भएकाले कुनै पनि मानवीय तथा भौतिक क्षति हुन नपाएको सेनाले जनाएको छ।