Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


रसुवागढी नाकास्थित बैली पुल उद्घाटन र नाका सञ्चालन अझै अन्योलमा


1.2k
Shares

काठमाडौं ।

नेपाल–चीन सीमास्थित रसुवागढी (केरुङ) नाकामा बाढीका कारण क्षतिग्रस्त मित्रता पुलको सट्टा निर्माण गरिएको बैली पुल निर्माण, परीक्षण तथा प्राविधिक निरीक्षण सम्पन्न भइसके पनि नाका सञ्चालन र पुल उद्घाटन अझै हुन सकेको छैन।

सार्वजनिक रूपमा उपलब्ध जानकारीअनुसार चिनियाँ पक्षले बैली पुल निर्माण सम्पन्न गरी करिब तीन हप्ता अघि नै सफल परीक्षण तथा निरीक्षण सम्पन्न गरिसकेको छ। साथै, पुलको औपचारिक उद्घाटन र नाका पुनः सञ्चालनका लागि नेपाल सरकारसँग समन्वय गर्न चिनियाँ पक्षले आधिकारिक रूपमा अनुरोध गरिसकेको बुझिएको छ।

तर, उक्त समन्वय अनुरोधपछि पनि उद्घाटन मिति तय हुन नसक्दा रसुवागढी नाका छ महिनाभन्दा बढी समयदेखि बन्द अवस्थामा नै रहेको छ। यसले नेपाल–चीन व्यापार, आयात–निर्यात, राजस्व संकलन, यातायात व्यवसाय तथा स्थानीय जनजीवनमा गम्भीर असर पारिरहेको छ।

वर्तमान अवस्थामा कोरला नाका मौसमी रूपमा बन्द रहने र तातोपानी नाका सीमित क्षमतामा मात्र सञ्चालन भइरहेकाले रसुवागढी नाका नेपाल–चीन व्यापारका लागि सबैभन्दा महत्वपूर्ण र रणनीतिक नाका मानिन्छ। नाका लामो समय बन्द रहँदा व्यापारी, ढुवानी व्यवसायी र स्थानीय बासिन्दा प्रत्यक्ष मारमा परेका छन्।

सम्बन्धित सरोकारवालाहरूले चिनियाँ पक्षबाट समन्वयको औपचारिक प्रस्ताव आइसकेको अवस्थामा नेपाल सरकारका सम्बन्धित मन्त्रालय, सुरक्षा निकाय र भन्सार प्रशासनबीच शीघ्र समन्वय गरी बैली पुलको उद्घाटन तथा नाका पुनः सञ्चालनको मिति तय गर्न ढिलाइ गर्न नहुने बताएका छन्।

स्पष्ट निर्णय र आधिकारिक सूचना नआउँदा आम नागरिकस्तरमा भ्रम र अन्योल बढ्दै गएको भन्दै सरोकारवालाहरूले यस विषयलाई उच्च प्राथमिकतामा राखी तत्काल पहल गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।