महोत्तरी ।
मिथिला क्षेत्रका साथै समग्र हिन्दू समुदायमा कार्तिक शुक्ल एकादशीका दिन मनाइने देउठान अर्थात देवोत्थान उत्सव मिथिलामा धुमधामका साथ मनाइयो ।
मिथिलाको धार्मिक–सांस्कृतिक एवं सामाजिक पर्वको रूपमा मनाइने देउठान उत्सवमा विशेषगरी विष्णु भगवानको पूजा आराधना तथा तुलसी विवाह सम्बन्धी धार्मिक विधि गरिन्छ । कार्तिक महिनाभरि भगवान विष्णुको चतुर्मास व्रत बस्ने परम्पराअनुसार देवोत्थान एकादशीका दिन देवपुजा गरी भगवान विष्णुलाई उठाइने धार्मिक मान्यता छ ।
देवोत्थान एकादशीका दिन सेरोफेरोका मठ–मन्दिर तथा घरघरमा विशेष पूजा गरिएको थियो । मिथिला क्षेत्रका विभिन्न स्थानमा तुलसी विवाहका कार्यक्रम आयोजना गरिएका थिए । तुलसी विवाह विशेष गरी महिलाले धुमधामका साथ मनाउने गर्छन् । देउठान एकादशीका अवसरमा महिलाले हरियो, रातो र पहेंलो पोशाक अङ्गीकार गरी धर्म–कर्ममा सहभागी भएर तुलसीका मठमा दीप प्रज्वलन गर्ने गर्छन् ।
मन्दिर, मठ, घरअँगनामा तुलसीको मठ बनाई वैवाहिक विधिअनुसार तुलसी–शालिग्रामको विवाह गरिन्छ । विवाहका प्रसङ्गमा गीत–भजन गाउने, रातभरि जागरण बस्ने चलन छ । देउठान लगायत विवाहोपयोगी गीत, भजन र संवादमा घर–घर, टोल–टोल र मठ–मन्दिरमा रौनक छाएको थियो ।
हिन्दू धार्मिक ग्रन्थका अनुसार देवोत्थान एकादशीका दिन भगवान विष्णु योग निद्राबाट उठेपछि सृष्टि सञ्चालन शुभ मानिन्छ र विवाह योग खुल्ने जनविश्वास छ । त्यसैले मिथिलामा यस दिनदेखि विवाहका शुभकार्यहरुको थालनी हुने गर्दछ । यस वर्ष पनि महोत्तरी, धनुषा, सिरहा, सप्तरीका बासिन्दाले तुलसी विवाह गरी देउठान उत्सव उल्लासपूर्वक मनाएका छन् ।








प्रतिक्रिया दिनुहोस्