Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


भेनेजुएलामा आयात र निर्यात हुने सबै तेल ट्यांकरमा पूर्णरूपमा नाकाबन्दी गर्न राष्ट्रपति ट्रम्पको निर्देशन

अन्तर्राष्ट्रिय स्तरमा तेलको मूल्यमा ठूलो उतारचढाव आउनसक्ने अनुमान

1.3k
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा आयात र निर्यात हुने सबै तेल ट्यांकरहरूमा पूर्णरूपमा नाकाबन्दी लगाउन निर्देशन दिनुभएको छ।

राष्ट्रपति ट्रम्पले ट्रुथ सोशलमा गरेको पोस्टमा भेनेजुएलालाई ‘आतंकवाद, लागू औषध तस्करी र मानव तस्करी’ मा संलग्न भएको आरोप लगाउँदै नाकाबन्दी लगाउन निर्देशन दिनुभएको हो। उहाँले भेनेजुएलामा आउने र त्यहाँबाट जाने सबै प्रतिबन्धित तेल ट्यांकरहरूमा पूर्ण र सम्पूर्ण नाकाबन्दीको निर्देशन दिएको बताउनुभयो।

एक हप्ता अघि मात्र अमेरिकाले भेनेजुएलाको तट नजिक एक तेल ट्यांकर नियन्त्रणमा लिएको थियो । यस कदमलाई भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले ‘समुद्री लुट’ भनेर आलोचना गर्नुभएको थियो। त्यसपछि ट्रम्पले तेल ट्यांकरमा नाकाबन्दीको निर्देशन दिनुभएको हो। ट्रम्पको यस नयाँ निर्देशनले अन्तर्राष्ट्रिय स्तरमा तेलको मूल्यमा ठूलो उतारचढाव आउन सक्ने अनुमान गरिएको छ।

अमेरिकाले क्यारेबियन क्षेत्रमा आफ्ना वायुसेना र नौसेना तैनाथ गरेको छ। यसमा परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी, जासुसी विमान र १५ हजार सैनिक समावेश रहेको बीबीसीले जनाएको हो। अमेरिकाले सोही क्षेत्रमा धेरै डुंगामाथि आक्रमण गरेको छ । जसमा हालसम्म ८० हजार भन्दा बढी मानिसको मृत्यु भएको छ।