Logo १ पुस २०८२, मंगलबार | Wed Dec 17 2025


एमालेकाे अध्यक्ष पदमा ओली र पोखरेलबीच प्रतिस्पर्धा, नेता भोट माग्न केन्द्रित

एमालेको मतदान आज दिउँसाे ४ बजेदेखि, अन्तिम मतपरिणाम भाेलि सार्वजनिक हुने

910
Shares

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएपछि नेताहरू अहिले भोट माग्न केन्द्रित भएका छन्।

ओली र पोखरेल प्यानलसहित मैदानमा उत्रिएकाले भृकुटीमण्डपस्थित मतदानस्थलमै पुगेर भोट माग्न नेताहरू जुटेका हुन्। ५ जना उपाध्यक्ष पदका लागि ११ जनाको उम्मेदवारी परेको छ। महासचिव पदका लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डे भिड्दै छन्। पोखरेल र पाण्डे अहिले मतदानस्थलमा पुगेर प्रतिनिधिलाई भेट्न केन्द्रित भइरहेका छन्।

ओली खेमाका नेताहरू पनि अहिले आन्तरिक गृहकार्यमा छन्। मतदान नजिकिएसँगै नेताहरूले कित्ता क्लियर गर्दै प्रतिनिधिलाई आफ्नो पक्षमा तानातान गरिरहेका हुन्। ३ उपमहासचिव पदका लागि ७ जनाको उम्मेदवारी परेको छ। ९ सचिव पदका लागि भने २० जनाको उम्मेदवारी दर्ता भएको हाे। प्रतिनिधिहरू अहिले आफ्नो पक्षमा माहोल बनाउन महाधिवेशनस्थलमा प्रचार सामग्री बाड्दै हिँडिरहेका छन्।

मतदान प्रक्रियाका लागि अन्तिम नामावली प्रकाशन भइसकेको छ। महाधिवेशन बन्दसत्र हल भृकुटीमण्डपमा विद्युतीय मेशिनबाट हुने मतदानका लागि आवश्यक तयारी पूरा भएको हाे।मंगलबार दिउँसो १ बजेदेखि नै मतदान शुरु हुने भनिएता पनि प्राविधिक कुराहरू मिलाउनुपर्ने भएकाले निर्धारित कार्यतालिका सरेको एमालेले जनाएकाे छ। 

मंगलबार दिउँसो ४ बजेदेखि मतदान कार्य शुरु हुने एमालेले जनाएकाे हाे। अन्तिम मतपरिणाम बुधबार सार्वजनिक हुने भएकाे छ।