Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


सौराहाबाट रूद्रकली र खगेन्द्रप्रसाद नाम गरेका २ वटा हात्तीको बिदाई


572
Shares

काठमाडाैं। नेपाल सरकारले कतारलाई उपहार दिन लागेका २ वटा हात्तीको सौराहाबाट बिदाई गरिएको छ।

चितवनस्थित सौराहामा सोमबार एक कार्यक्रमको आयोजना गरी रूद्रकली र खगेन्द्रप्रसाद नाम गरेका दुई वटा हात्तीलाई बिदाई गरिएको हो। हात्तिहरुलाई वैदिक विधिअनुसार पूजा गरेर फूल माला लगाई फलफूल खान दिएर बिदाई गरिएको थियो। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्त लगायतले हात्तिलाई माला लगाईदिनुभएको थियो। २०८१ वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमण क्रममा सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने निर्णय गरेको थियो।

सोही अनुसार हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोरमा हुर्किएर तालिम पाएका ७ वर्षकी रूद्रकली र ६ वर्षको खगेन्द्रप्रसादलाई उपहार स्वरुप कतार पठाउन लागिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. पन्तले जानकारी दिनुभयो। उहाँले बिदाई गरिएका हात्तिहरुलाई भैरहवा विमानस्थलबाट पुस २ गते पशु सेवा प्राविधिक र दुई जना माउतेहरुसहित चाटर्ड विमानमार्फत कतार पठाईने बताउनुभएकाे छ। उहाँले औपचारिक रुपमा भने भैरहवा विमानस्थलबाट नै कतार सरकारलाई हस्तान्तरण गर्न तयारी रहेको जानकारी दिनुभयो ।

नेपालले पहिलो पटक अन्य देशलाई हात्ती उपहार दिन लागेको हो। कतारले चार्टर विमानमार्फत खोरसहित हात्तीहरूलाई कतार लानेछ। रूद्रकलीका माउते बुद्धिलाल श्रेष्ठ र खगेन्द्रप्रसादका माउते पाचुखा थारू पनि कतार जाँदैछन् । उनीहरुले त्यहाँ एक महिना बसेर हात्तीको स्याहार र त्यहाँका कर्मचारीलाई तालिम दिने डा. पन्तले बताउनुभयाे।