Logo २१ असार २०८३, आइतबार | Mon Jul 6 2026


इरानमा नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदी पक्राउ


715
Shares

काठमाडौं । इरानी सुरक्षा बलले नोबेल शान्ति पुरस्कार विजेता तथा महिला अधिकारकर्मी नर्गेस मोहम्मदीलाई हिंस्रक रूपमा पक्राउ गरेको उनको फाउन्डेसनले जनाएको छ।

नर्गेस फाउन्डेसनका अनुसार ५३ वर्षीया मोहम्मदीलाई पूर्वी इरानको मसहद सहरमा अन्य कार्यकर्ताहरूसँगै पक्राउ गरिएको हो।

नोबेल समितिले मोहम्मदीको गिरफ्तारीप्रति गहिरो चिन्ता व्यक्त गर्दै उनी कहाँ राखिएको छ भन्ने जानकारी दिन, उनको सुरक्षा र मर्यादा सुनिश्चित गर्न तथा बिनासर्त रिहा गर्न इरानी अधिकारीहरूलाई आग्रह गरेको छ।

यस विषयमा इरानी सरकारबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। इरानमा महिलामाथिको दमनविरुद्धको संघर्ष र मानव अधिकार प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै मोहम्मदीलाई सन् २०२३ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।

उनी सन् २०२१ देखि तेहरानको एविन जेलमा थिइन् र डिसेम्बर २०२४ मा मेडिकल आधारमा तीन हप्ताका लागि अस्थायी रूपमा रिहा भएकी थिइन्।