Logo २४ माघ २०८२, शनिबार | Sun Feb 8 2026


जनसंख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन ६ सदस्यीय समिति गठन


143
Shares

काठमाडौं । निर्वाचन आयोगले जनसंख्याकाे आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारणको प्रक्रिया अगाडि बढाएको छ।

आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र, २०७४ ले गरेको व्यवस्थाबमोजिम दलित, आदिवासी, जनजाती, खस आर्य, मधेसी, थारु र मुस्लिम समूहका लागि प्रतिशत निर्धारण गर्न लागेको हो। जनसंख्याका आधारमा समावेशी समूहको प्रतिनिधित्व गराउने सन्दर्भमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव सुभाषकुमार भट्टराईको संयोजकत्वमा निर्वाचन आयोग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र राष्ट्रिय तथ्यांक कार्यालयका प्रतिनिधि रहेको ६ सदस्यीय समिति गठन गरिएको छ।

सोही समितिले राष्ट्रिय जनगणनाका आधारमा समावेशी आधार प्रतिशत तय गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश तोकिएको प्रवक्ता नारायणप्रसाद झट्टराईले जानकारी दिनुभयाे। राष्ट्रिय जनगणना, २०७८ अनुसार जनसंख्याका आधारमा प्रतिशत निर्धारण गर्ने आयोगको तयारी छ।

आयोगले त्यसका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, मुख्यसचिव सुमनराज अर्याल, निर्वाचन आयुक्त डा जानकी तुलाधरसहितका आयोगका पदाधिकारी, गृहसचिव रामेश्वर दंगाल र प्रमुख तथ्यांक अधिकृत मधुसुदन बुर्लाकोटीबीच छलफल भएको आयोगले जनाएकाे हाे।