Logo १८ माघ २०८२, आइतबार | Mon Feb 2 2026


आगामी निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न कांग्रेसकाे परिपत्र

उम्मेदवारका लागि १० मापदण्ड समेत तोकियाे

1.1k
Shares

काठमाडाैं। नेपाली कांग्रेसले आगामी माघमा हुने राष्ट्रिय र फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारको नाम सिफारिस गर्न परिपत्र गरेको छ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको परिपत्रमा प्रतिनिधिसभातर्फ प्रत्यक्ष र समानुपातिक तथा राष्ट्रियसभाका उम्मेदवारको टिकट एकै पटक वितरण गर्ने उल्लेख गरेकाे हाे। त्यसैगरी परिपत्रमा उम्मेदवारका लागि १० वटा मापदण्ड समेत तोकिएको छ। जस अनुसार कुनै पनि प्रकृतिका सामाजिक विसंगतिमा दोषी ठहर भएकादेखि पार्टीलाई लेवी नबुझाउनेलाई उम्मेदवार नबनाउने उल्लेख छ । त्यस्तै, जातीय विभेद, घरेलु हिंसा, बाल श्रम वा अन्य कुनै पनि प्रकृतिका सामाजिक विसंगतिमा दोषी ठहर भएका व्यक्ति उम्मेदवार बन्न अयोग्य हुने भएका छन्।

२०७९ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदमा समानुपातिकतर्फबाट निर्वाचित भएका व्यक्तिहरु यस पटक समानुपातिकमा राखिने छैनन् । त्यस्तै, २०७९ सालको प्रदेशसभा निर्वाचनमा समानुपातिकको बन्द सूचीमा समावेश भएका व्यक्तिहरूको नाम पनि प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिफारिस गर्न पाइने छैन । तोकिएको उम्मेदवार संख्या भन्दा बढी नाम सिफारिस नगर्न भनिएको छ।प्रतिनिधिसभाको प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभा सदस्य पद मध्ये एक व्यक्ति एक पदका लागि मात्र नाम सिफारिस गर्नु पर्नेछ।

उम्मेदवार बन्नका लागि नेपाली नागरिकताको प्रमाणपत्र र मतदाता परिचय पत्रको प्रतिलिपि पनि पेश गर्नु पर्नेछ। त्यसैगरी निर्वाचन आयोगले तोकेको स्वघोषणापत्र, उम्मेदवारको वैयक्तिक विवरण र सम्पत्ति विवरण फारममा हस्ताक्षर गरेको हुनुपर्ने पनि शर्त राखिएको छ। २०७९ सालको स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई उम्मेदवार सिफारिस नगर्न पनि जारी पत्रमा भनिएको छ।