काठमाडाैं। आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन प्रयोजनका लागि विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दल दर्ता भइसकेको छन् ।
दल दर्तामा साना ठूला दलको उत्साहजनक सहभागिता भइरहेको हाे। मतदाता नामावलीमा समय थप गरेको निर्वाचन आयोगले दल दर्ताका लागि समेत थप समय दिएको छ। उता, सरकारले सुरक्षा व्यवस्था चुस्त बनाएको दावी गरिरहँदा आयोगले प्राविधिक तयारी पनि अगाडि बढाइरहेको छ। जसले निर्वाचनको वातावरण बनेको भन्दै सरकार र आयोग दुवै उत्साहित बनेका छन्।
सरकार र आयोग दुवैले राजनीतिक दलहरुसँगको संवादलाई तीव्रता दिइरहेका छन्। उनीहरुले आवश्यकता अनुसार छलफललाई थप तीव्र बनाउने पनि बताइरहेका हुन् । यसैबीचमा छलफलमा सहभागी हुनेदेखि दल दर्ता लगायतका प्रक्रियामा सहभागि भइरहेका छन् । आगामी १४ गतेसम्म समय दिइएकोमा विहीबारसम्म प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि १ सय ७ वटा दल दर्ता भइसकेका छन् । कसैलाई पनि निर्वाचनमा भाग लिनबाट वञ्चित हुने अवस्था नबनोस भन्नका लागि अन्य कामको समयावधि घटाएर भए पनि दल दर्ताको समय बढाइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयाे।
आयोगले तयारी अगाडि बढाइरहेको समयमा पनि दलहरुको चासो भने निर्वाचन सुरक्षामै देखिन्छ। उनीहरुले निर्वाध रुपमा कार्यक्रम गर्ने वातावरण नबनेको भन्दै सरकार त्यसको सुनिश्चितता गर्न सक्दैन भन्दै आलोचन समेत गरिरहेका छन् । तर सुरक्षा प्रबन्धनकाे कुनै पनि समस्या नहुने गृहमन्त्री ओमप्रकाश अर्यालकाे दावी छ।
यसरी आयोग र सरकार दुवैले निर्वाचनको राजनीतिक वातावरण बन्दै गएको सर्वाजनिक दावी दिइरहेका छन् । उता आयोगले त निर्वाचनका लागि आवश्यक पर्ने सामग्री व्यवस्थापनको पाटोको समेत आँकलन गरिसकेको छ। यस पटक मतपेटिका र मतपत्रका लागि आवश्यक पर्ने कागज स्टक नै रहेकाले किन्नुपर्ने छैन भने अन्य सामग्री खरिदका लागि कानुन अनुसार प्रक्रिया अगाडि बढाउने तयारीमा आयोग छ। मतदाता नामावली संकलन र दल दर्तामा केही समय थप गरेको आयोगले अव भने समयको चाप बढ्दै गएकाले कार्यतालिका हेरफेर गर्ने अवस्था नरहेको प्रवक्ता भट्टराईले बताउनुभयाे।
यसरी निर्वाचन प्रयोजनका लागि गर्नुपर्ने प्राविधिक विषय कार्यतालिका अनुसार नै अगाडि बढेकाले पनि सरकार र आयोगमा उत्साह देखिएको हाे। तर दल दर्ता लगायतका काममा सहभागी भए पनि दलहरुले भने लुटिएका हतियार र भागेका कैदी बन्दी फिर्ता नभएको देखाउँदै चुनावी माहोल बनाउनेतर्फ सरकार नलागेको गुनासो गरिरहेका हुन् । त्यसैलाई देखाएर दलहरुले तोकिएकै मितिमा निर्वाचन हुन्छ त ? भन्ने संशय पनि ब्यक्त गरिरहेका छन् ।





प्रतिक्रिया दिनुहोस्