काठमाडाैं। नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले प्रशासन चलाउने शक्ति पद भन्दा पनि विश्वास रहेको बताउनुभएको छ।
३५ वर्षको सरकारी सेवापछि मंगलबार अनिवार्य अवकाशमा जान लाग्नुभएका मुख्यसचिव अर्यालले प्रधानमन्त्री तथा उच्च अधिकारीहरूको उपस्थितिमा आयोजित बिदाइ समारोहमा बोल्दै यस्तो बताउनुभएको हो। उहाँले सरकारी सेवामा प्रशंसा भन्दा बढी चुनौती, आलोचना र असहज परिस्थितिहरू आउने बताउनुभयो । कुनै पनि राष्ट्रिय सेवकले प्रश्नबाट भाग्न नसक्ने उहाँको भनाइ छ। उहाँले विशेषगरी संवेदनशील क्षण र निर्णायक अवस्थाहरूमा सबै पक्षलाई सन्तुष्ट पार्न नसकिने बताउनुभयो।
जेनजी आन्दोलन, राष्ट्रिय सम्पत्तिको रक्षा, शान्ति व्यवस्थापन जस्ता चुनौतीपूर्ण परिस्थितिमा उपलब्ध साधन र सूचनाका आधारमा सकेसम्म उचित निर्णय लिने प्रयास गरेको उहाँको भनाइ छ। उक्त विषम परिस्थितिमा भर्चुअल सचिव बैठक र राजनीतिक समन्वय जस्ता महत्वपूर्ण सहजीकरणबाट नागरिक सरकारको गठनमा महत्वपूर्ण भूमिका गरेको उहाँले बताउनुभयो। यसबाट पनि आगामी दिनमा निजामती सेवाको उच्च महत्व स्थापित भएको उहाँले बताउनुभएकाे छ। तर पनि प्रश्न गर्ने समाजको स्वभावै भएको मुख्यसचिव अर्यालको भनाइ थियाे।
मुख्यसचिव अर्यालले संघीय निजामती सेवा र कानूनी संरचनामा देखिएका कमजोरी तथा नेतृत्व विकासमा अवरोध पुर्याउने व्यवस्थाहरूविरुद्ध आफूले स्पष्ट रुपमा खुला धारणा राखेको बताउनुभयो। ती विषयहरू व्यक्तिगत विवाद नभएर संस्थागत सुधारको अनिवार्यता रहेपनि आलोचना र विवाद भएको उहाँकाे भनाइ छ। साेही क्रममा भएका आलोचना र प्रशंसा दुवैलाई आफूले स्वीकार गरेको उहाँले बताउनुभयो।
मुख्यसचिव अर्यालले सेवा निवृत्त हुँदै गर्दा निजामती सेवाले पछिल्ला वर्षमा गरेका प्रमुख उपलब्धिहरू समेत सार्वजानिक गर्नुभएकाे छ। वैदेशिक रोजगार प्रणालीलाई डिजिटल दायरामा लैजानु, सेवा प्रवाह सहज बनाउनु, सामाजिक सुरक्षा विस्तार, निजामती सेवा अस्पताल तथा इमिग्रेसन सेवा सुधार, सुशासन, व्यवसायिक वातावरण सुधारमा म्यासिभ र दिगो प्रयत्न गरिएको उहाँको भनाइ थियो। यी उपलब्धि कुनै एक व्यक्तिको नभई सम्पूर्ण निजामती सेवाको सामूहिक उपलब्धि भएको उहाँले बताउनुभएकाे छ।
मुख्यसचिव अर्यालले समयमा महत्व र कठिन अवस्थामा पनि राज्यका संयन्त्रहरूलाई चलायमान राखेको उल्लेख गर्नुभयो । जेनजी आन्दोलनले देशलाई स्पष्ट सन्देश दिएको उल्लेख गर्दै मुख्यसचिव अर्यालले नागरिकले उत्तरदायित्व, पारदर्शिता, कार्यक्षमता र सहज सेवा चाहेको बताउनुभएकाे छ। उहाँले अहिलेका संरचनाहरूलाई अनुकूलन र सुधार गर्ने समय आएको उल्लेख गर्नुभयो।
मुख्यसचिव अर्यालले निजामती सेवामा साहस नखस्किन नदिन पनि आग्रह गर्नुभएकाे छ। सुधार गर्ने हिम्मत, न्यायपूर्ण निर्णय गर्ने इमान, नागरिकप्रति संवेदनशीलता तथा संस्थालाई अगाडि बढाउने दृढता बिना राज्य बलियो नहुने उहाँको भनाइ थियाे। इतिहासले सधैं साहसलाई सम्मान गर्ने भन्दै उहाँले कठोर निर्णयहरू प्रायः एकमत नआउने तर देशलाई चाहिने निर्णय भने हुनुपर्ने बताउनुभएकाे छ ।
मुख्यसचिव अर्याल २०४६ साल माघ ४ गतेबाट सरकारी सेवामा प्रवेश गर्नुभएको थियो। उहाँ ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा जान लाग्नुभएको छ।





प्रतिक्रिया दिनुहोस्