काठमाडौं। नेकपा एमालेले केही दिन अघि मात्रै गठन गरेको ‘नेसनल भोलेन्टियर फोर्स’ केन्द्रीय कमाण्डका विषयमा अनेक प्रश्नहरु खडा भइरहेका छन् ।
पटक-पटक सत्तामा पुगेको पार्टीले फोर्स गठन गर्ने र त्यसको नेतृत्व नै आपराधिक पृष्ठभूमिको ब्यक्तिलाई तोक्ने गर्दा सिंगो एमाले पार्टी र त्यसको नेतृत्वमाथि प्रश्न उठेको हो। तर एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने साेही फोर्स सबै जनता र भाैतिक संरचनाकाे समेत सुरक्षा गर्ने दावी गर्नुभएकाे छ।
एमालेका पछिल्ला गतिविधिले मुलुक नै थप संकटमा फस्ने हो कि भन्ने आशंका बढेको छ। देश र जनताको हितमा गतिविधि अघि बढाएको भने पनि पार्टी र नेतृत्वको शैलीले त्यो संकेत गरेको छैन। एमाले र नेता तथा कार्यकर्ताहरुमा सत्ताको भोक अझैं मेटिएको छैन। उनीहरु अहिले पनि जसरी हुन्छ गुमेको सत्तामा फर्काउने दाउमा देखिन्छन् । त्यसकै लागि एमालेले जनप्रदर्शनदेखि भोलेन्टियर फोर्स गठनसम्मका गतिविधि गरिरहेको हो । एमालेले भोलेन्टियर्स फोर्स गठन कुन लक्ष्य र उद्देश्यका लागि गरेको हो ? त्यो नै स्पष्ट छैन । यो फोर्सले मुलुकलाई नै जोगाउने भन्दै अफवाह फैलाइए पनि वास्तविकतामा त्यस्तो देखिएको छैन।
फोर्सको कमाण्डर नै विवादित र आपराधिक पृष्ठभूमिका व्यक्तिलाई तोकिएको छ। यो फोर्सका कमाण्डर बनेका सिन्धुलीका पुष्पराज श्रेष्ठ नेपाल प्रहरीको क्रिमिनल रेकर्ड सिस्टममा आपराधिक ब्यक्तिको रुपमा रहेका छन् । उनको पृष्ठभूमि ज्यान मार्ने उद्योगको कसुरदेखि अभद्र व्यवहारको कसुरसम्मको छ । यस्ता व्यक्तिलाई फोर्सको नेतृत्वमा ल्याएर एमालेले चाहेको के हो ?
प्रहरी रेकर्ड अनुसार उनीविरुद्ध अहिलेसम्म ४ वटा ज्यान मार्ने उद्योगको कसुर, २ वटा सार्वजनिक अपराध (अभद्र व्यवहार) र १ वटा अपहरण तथा शरीर बन्धकको कसुरमा मुद्दा चलेको भेटिएको छ। पछिल्लो पटक श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २०७५ साल भदौ २६ गते पक्राउ गरेको थियो ।
पुष्पराज श्रेष्ठको विगतः
ज्यान मार्ने उद्योगको कसुर – २०६३
ज्यान मार्ने उद्योगको कसुर – २०६४
ज्यान मार्ने उद्योगको कसुर – २०६५
सार्वजनिक अपराधको कसुर – २०६७
अपहरण तथा शरीर बन्धकको कसुर – २०७०
ज्यान मार्ने उद्योगको कसुर – २०७३
अभद्र व्यवहारको कसुर-२०७५
विवादित र आपराधिक पृष्ठभूमिका व्यक्तिलाई नेतृत्वको जिम्मा दिनु कुनै पनि राजनीतिक पार्टीका लागि सुहाउने विषय होइन । यसले मुलुकमा थप अराजकता र आपराधिक गतिविधि बढ्ने खतरा बढाएको छ। फोर्सको काम नै लड्न र भीड्न अग्रसर गराउने खालको छ। पटक-पटक सत्तामा बसेको पार्टीले यस्ता गतिविधि अघि बढाउन कुन नैतिकताले दियो ? सोचनीय विषय बनेको हाे ।
भिडियाे रिपोर्ट:





प्रतिक्रिया दिनुहोस्