Logo ३ मंसिर २०८२, बुधबार | Wed Nov 19 2025


सिमरा उडान प्रभावितः एमाले नेताहरूको यात्राले सामान्य यात्रुहरूको बिचल्ली


2.2k
Shares

काठमाडौं ।
काठमाडौं विमानस्थलबाट आज सिमरा जाने बुद्ध एयरको विमानमा एमाले नेताहरूको उपस्थितिका कारण सामान्य यात्रुहरुकाे बिचल्ली भएको छ ।

बिहान १०ः३५ बजे उड्ने तय भएको उक्त उडानमा एमालेका नेता शंकर पोखरेल, महेश बस्नेत, भानुभक्त ढकाल, सुमन प्याकुरेल लगायतको उपस्थितिका कारण विमान होल्डमा परेपछि यात्रुहरू विमानस्थलमा थुनिएका थिए ।

सोही विमानमा सबार हिमालय टाइम्सका प्रधान सम्पादक पुरुषोत्तम दाहालका अनुसार, विमानमा करिब ७० जना यात्रु पहिले नै बोर्डिङ सकिसकेका थिए । तर, एमाले नेताहरूको उपस्थितिपछि केही समूहले नेताहरूलाई सिमरा नजान दिने उद्देश्यले विमानस्थलमा प्रदर्शन सुरु गरे ।

सुरक्षाको दृष्टिकोणमा विमानस्थल प्रशासनले तत्काल विमान उड्न रोक्ने निर्णय लिएको थियो । यस घटनापछि विमानमा सवार सबै यात्रुहरूलाई पुनः ओरालेर यात्रु कक्षमा बस्न निर्देशन दिइएको थियो । यात्रुहरू विमानस्थलमा लामो समयसम्म बस्दा उनीहरूमा असन्तोष र तनाव देखिएको थियो । घटनाले सामान्य नागरिकको आवतजावतमा ठूलो असर पारेको र मानवअधिकार उल्लंघनको प्रश्नसमेत उठाएको छ ।

विमानस्थल प्रशासनका अनुसार, राजनीतिक नेताहरूको उपस्थितिका कारण सुरक्षा जोखिम मूल्यांकन गरी विमान होल्ड गरिएको हो । तथापि, यात्रुहरूको असुविधा र त्रासको कारणले नागरिकस्तरबाट कडा आलोचना भइरहेको छ । यस्तो घटनाले आगामी दिनमा राजनीतिक प्रतिनिधिहरूको यात्रा र सामान्य यात्रुहरूको सुविधाको बीच सन्तुलन कायम गर्नु आवश्यक भएको देखाएको छ ।