Logo ३० कार्तिक २०८२, आइतबार | Sun Nov 16 2025


आगामी निर्वाचनकाे काममा आयोग ब्यस्त (भिडियाे रिपाेर्ट)

दल दर्ताको अवधि पनि थप !

273
Shares

काठमाडाैं। आगामी फागुन २१ गते हुने निर्वाचनका सन्दर्भमा राजनीतिक वृतमा अनेक चर्चा परिचर्चा भइरहेकाे छ।

निर्धारित मितिमा निर्वाचन सम्पन्न होला त भन्ने संश निर्वाचनमा जाने राजनीतिक व्यक्तिहरुदेखि मतदातासम्ममा रहेका हुन्। तर निर्वाचन आयोगले भने आफ्नो काम कार्यतालिका अनुसार नै अगाडि बढाइरहेको छ। आइतबारसम्मका लागि नयाँ दल दर्ताको समय तोकेको आयोगले आगामी मंसिर १ देखि १० गतेसम्मका लागि फागुन २१ गतेको निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताको समय तोकेको छ। यो अवधिमा पनि नयाँ दल दर्ता हुनसक्ने देखिएको छ।

आयोगले शुरुमा कार्तिक ३० गतेसम्म दर्ता भएका दलले फागुन २१ गतेको निर्वाचन प्रयोजनका लागि दल दर्ता प्रक्रियामा जाने भनेको थियो। तर अहिले मंसिर १ देखि १० गतेसम्म फागुन २१ गतेको निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय दिएकाे आयाेगले त्यो अवधिभित्र दलदर्ताको प्रमाणपत्र लिएका दलहरुले समेत निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सक्ने जनाएकाे हाे। त्यसैले मंसिर १० गते मात्रै दलदर्ताको संख्या र फागुन २१ गतेको निर्वाचनमा भाग लिने दल दुवैको निक्र्यौल हुने भएकाे छ।

आइतबारसम्म आयोगमा १ सय २२ दल दर्ता हुदाँ २८ दल दर्ता प्रक्रियामा छन् । ७ दलको दर्ता खारेज हुदाँ ७ नयाँ दलले प्रमाणपत्र लिएका हुन् । दल दर्ता प्रक्रियामा रहेकाहरुलाई आवश्यक कागजात परिक्षण र सनाखत गराउने काम आयोगले गरिरहेको छ। केन्द्रीय समितिको हकमा आयोगको सचिवालयमा र अन्य सदस्यहरुलाई सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमै सनाखतको काम भइरहेको प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयाे।

अहिले निर्वाचन आयोगले मुलत दलदर्ता र मतदाता नामावली संकलनको काम गरिरहेको छ। आयोगले मतदाता नामावलीमा चाप बढेको भन्दै थप पाँच दिनका लागि समयावधी पनि थपेको हाे। नामावली संकलनतर्फ शनिवारसम्म आयोगको कार्यालय पुगेर दर्ता गर्ने २ लाख ८५ हजार र राष्ट्रिय परिचय पत्रबाट आवेदन दिनेको संख्या २ लाख पुगेको छ। दल र सुरक्षा निकायसँग छलफल गरिरहेको आयोगले मंसिर १० गते निर्वाचन कार्यक्रम प्रकाशन गर्ने तयारी गरेको हाे। यसरी आयोगले कार्यतालिका अनुसार सबै काम अगाडि बढाइरहेको प्रवक्ता भट्टराईले बताउनुभयाे।

आयोगले आफ्नो तर्फबाट गर्नुपर्ने काम गरिरहेकै देखिन्छ। तर सरकार र राजनीतिक दलहरुबीच हुनेपर्ने छलफल लगायतका कारण निर्वाचनको वातावरण बनाउने पक्षमा भने पर्याप्त काम हुन सकेको छैन।
भिडियाे रिपाेर्ट: