काठमाडाैं । सरकारले ‘जेनजी’ आन्दोलनका क्रममा घाइतेहरुलाई चार प्रकारमा वर्गीकरण गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको प्राविधिक समितिले घाइतेलाई चार श्रेणीमा विभाजन गरेको हो। मन्त्रालयका अनुसार अति गम्भीर, गम्भीर, मध्यम र सामान्य गरी ४ वर्गमा घाइतेलाई विभाजन गरेकाे जनाएकाे हाे। सरकारले स्वास्थ्य मन्त्रालयका गुणस्तर, मापन तथा नियमन विभागका प्रमुख डा. सरोज शर्माको संयोजकत्वमा १० सदस्यीय प्राविधिक समिति गठन गरेको थियो । अति गम्भीरलाई २३, गम्भीरलाई २१, मध्यम घाइतेलाई २३ र सामान्य घाइतेलाई ११ प्रकारका चोट पटक लागेका आधारमा छुट्याइएको मन्त्रालयले जनाएको छ।
घाइतेहरुलाई वर्गीकरण अनुसार परिचयपत्र उपलब्ध गराइने छ। सरकारले सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरणको काम सक्न निर्देशन पनि दिइसकेको छ। गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा २ हजार ५ सय ७२ जना घाइते भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।
जसमध्ये ११ जना अझै विभिन्न अस्पतालमा उपचाररत रहेको पनि मन्त्रालयले जनाएको हाे।




प्रतिक्रिया दिनुहोस्