Logo २७ कार्तिक २०८२, बिहिबार | Thu Nov 13 2025


निर्वाचन आयोग चुनावकाे चटारोमा ! (भिडियाे रिपाेर्ट)

राजनीतिक दललाई भने शान्ति-सुरक्षाकै चिन्ता

65
Shares

काठमाडाैं। निर्वाचन आयोगले राजनीतिक दलहरुसँग निर्वाचन कार्यक्रम प्रस्तावित कार्यतालिकामाथि छलफल गरेको छ।

प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ दल दर्ता, बन्दसूची पेश गर्नेदेखि उमेदवारी दर्ता र प्रचारप्रसारको समयसम्मका विषयमा आयोगले दलहरुको प्रतिक्रिया लिएको हाे । छलफलमा पुगेका दलहरुले सुरक्षाको प्रत्याभूति र वातावरणका विषयमा आयोग समक्ष जिज्ञाशा राखेका छन्। आयोगको निर्वाचन कार्यक्रम कसरी निर्धारण भएको छ र दलहरुको प्रतिक्रिया के रह्यो त ?

निर्वाचन आयोगले राखेको छलफलमा नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टीसहित विघटित प्रतिनिधि सभाका राष्ट्रिय दल र राष्ट्रिसभा प्रतिनिधित्व गर्ने दलहरुलाई बोलाइएको थियो। अन्य दलका प्रतिनिधि सहभागी भएता पनि नेकपा एमालेका प्रतिनिधि भने उपस्थित भएका थिएनन् । उपस्थित दलहरुले पनि मूल चासो निर्वाचन कार्यक्रम भन्दा पनि सुरक्षा र राजनीतिक वातावरणमा राखेका थिए।

आयोगले प्रस्तुत गरेको कार्यक्रम अनुसार समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरुले आगामी मंसिर २१ देखि २३ गतेसम्म निवेदन दिनुपर्ने छ । समानुपातिक निर्वाचमा भाग लिने दलहरुको अन्तिम नामावली प्रकाशन र चिन्ह मंसिर २६ गते प्रदान गरेपछि उम्मेदवारको बन्दसूचीका लागि आगामी पुस १३ र १४ गतेको मिति प्रस्ताव गरिएको छ। बन्दसूचीको अन्तिम प्रकाशन भनेर आगामी माघ २० गते समय राखिएको छ ।

प्रत्यक्ष निर्वाचनका लागि माघ ६ गते उमेदवारी दर्ताको समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदानको कार्यक्रम माघ ९ गतेका लागि प्रस्ताव गरिएको छ । दलहरुसँगको छलफल पछि आयोग यसलाई विधिवत रुपमा प्रकाशन गर्ने तयारीमा छन् । निर्वाचन कार्यक्रममाथिको छलफलमा जुटेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचनको माहोल बनाउने विषयमा गम्भीरताका साथ काम भइरहेको दावी गर्नुभयाे।

दलहरुसँग छलफलको अघिल्लो दिन आयोगले प्रधानमन्त्री सुशीला कार्कीसँग समेत छलफल गरेको थियो । जसले आयोगको तर्फबाट छलफल र तयारी भइरहेको देखिन्छ । तर निर्वाचनका लागि जुन तहको राजनीतिक माहोल बन्नुपर्ने थियो त्यसका लागि भने सरोकारवाला पक्षहरु-दल, सरकार र निर्वाचन आयोग सबैले थप प्रयत्न गर्नुपर्ने देखिन्छ ।

भिडियाे रिपाेर्ट: