Logo ३० फाल्गुन २०८२, शनिबार | Sun Mar 15 2026


मधेश प्रदेश सभामा ७ राजनीतिक दल र एमाले सांसदबीच झडप

आफूविरूद्ध अविश्वासकाे प्रस्ताव दर्ता गरेकाे भन्दै सभामुख मण्डलले नै गरे सांसदमाथि हातपात

3.3k
Shares

जनपुरधाम। मधेश प्रदेशसभामा बिहीबार साँझ सांसदहरुबीच हात हालाहाल भएको छ।

प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वास प्रस्ताव दर्तासँगै प्रदेशशभाभित्र कोलाहल उत्पन्न भएको हो। सभामुख मण्डल र नेकपा एमाले सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गर्ने सात दलका सांसदहरुमाथि हातपात गरेका हुन् । सात दलका सांसदहरु अविश्वास प्रस्ताव दर्ता गराउन गएपछि सभामुखको बचाउमा उत्रिएका एमालेका नेता–कार्यकर्ता सांसदहरुले हुल हुज्जत गरेका थिए। त्यस क्रममा सात दलका सांसदहरु र एमाले सांसदहरुबीच हात हालाहाल भएको हो।

सभामुख मण्डल नै हातपातमा उत्रिनुभएकाे थियाे। सभामुख मण्डलले आफ्नै सचिवालयभित्र लोसपाका उपेन्द्र महतो र जनमतका महेश यादवलाई आफैंले पिटेका थिए। सभामुखको सचिवालयमा प्रहरीले बाहिरबाट ताल्चा लगाइदिएको छ।कर्मचारीले बत्ती बन्द गरिदिएका छन् । अहिले सात दलका सांसदहरू बन्धक जस्तै भएको बताइएको छ।

सात दलका नेता कार्यकर्ता र सभामुखको बचाउमा उत्रिएका एमाले नेता कार्यकर्ता र सांसदहरुबीच अहिले पनि झडपको अवस्था रहेको छ। सभामुख मण्डलविरुद्ध अविश्वास प्रस्ताव भने दर्ता भइसकेको छ।