काठमाडाैं । पब्लिक सर्भिस इन्टरनेसनल (पीएसआई)ले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने तथा नियमित सेवा सुविधा उपलब्ध गराउन अभियानलाई तीव्र पारेको छ।
काठमाडाैंमा बुधबार पब्लिक सर्भिस इन्टरनेसनलले एक कार्यक्रमको आयोजना गर्दै काठमाडौं जिल्लाका विभिन्न स्थानीय तहमा कार्यरत स्वास्थ्य स्वयंसेविकाहरुसँग अन्तरक्रिया समेत गरेको हाे। लामो समयदेखि समुदायमा स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेका महिला सामूदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई संगठित गर्दै उनीहरूको आवाज सशक्त बनाउन प्रयासरत रहेको पीएसआईले जनाएको छ।
पीएसआईकी स्वास्थ्य सहजकर्ता नविना लुइँटेलले स्वयंसेविकाहरुको अधिकार र सेवासुविधा सुनिश्चित गर्न आफूहरु सक्रिय रहेको बताउनुभयो । उहाँका अनुसार संस्थाले नेपालसहित पाकिस्तान, भारत र फिलिपिन्समा सामुदायिक स्वास्थ्यकर्मीको हकअधिकारका लागि सक्रिय रूपमा अभियान सञ्चालन गरिरहेको छ । स्वास्थ्य स्वयंसेविकाहरुलाई संगठित गर्दै उनीहरुले आवाज सशक्त बनाउन संस्था लागिपरेको उहाँले दावी समेत गर्नुभएकाे छ।
नेपाल स्वास्थ्य स्वयंसेवी संघकी केन्द्रीय सदस्य भवानी अधिकारीले शुरुवाती वर्षहरूमा स्वयंसेविकाहरुले कुनै सेवा–सुविधा नपाएको भएपनि विस्तारै मागहरु सम्बोधन हुन थालेको बताउनुभयो । उहाँले केही स्थानीय तहहरुमा कार्यरत स्वास्थ्य स्वयंसेविकाको समेत आधारित सामाजिक सुरक्षा लागू हुन थालेको बताउनुभएकाे छ। देशैभरीका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन आफूहरु लागिपरेको उहाँको भनाइ थियाे।
चन्द्रागिरी नगरपालिकामा कार्यरत स्वास्थ्य स्वयंसेविका वसन्ती महर्जनले नगरपालिका कार्यरत स्वयंसेविकाहरूले महिनाको ४ हजार रुपैयाँ पारिश्रमिक पाउने र अवकाशमा जाँदा १ लाख ७५ हजार रुपैयाँ सुविधा दिने निर्णय भएको बताउनुभयो।
पिएसआईकाअनुसार नेपालमा ५० हजारभन्दा बढी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू कार्यरत छन् ।




प्रतिक्रिया दिनुहोस्