Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


पाँचथरको पञ्चमीमा हाट लाग्ने चलन यथावत

महिनाको दुई पटक हाट लाग्दा स्थानीय किसानलाई राहत

104
Shares

पाँचथर । पाँचथरको तुम्बेवा गाउँपालिकामा अवस्थित पञ्चमी हटिया एक ऐतिहासिक र परम्परागत हटिया हो ।

देशैभरीका ग्रामीण बस्तीहरूमा झैं यहाँ पनि विभिन्न बार र मितिमा साप्ताहिक तथा पाक्षिक रूपमा हटिया लाग्ने गर्छन् । निश्चित मिति र स्थानमा लाग्ने हटिया गाउँका नागरिकहरूको मुख्य व्यावसायिक केन्द्रका रूपमा परिचित छन।

पञ्चमी हटिया विगतमा प्रत्येक महिनाको पञ्चमी तिथिमा लाग्ने गथ्र्यो । तर द्धन्द्वकालपछि यो हटिया हरेक महिनाको १२ र २८ गते लाग्ने गरिएको छ। गाउँको केन्द्रमा साना–स्याउलाले बारिएका टहराहरूमा स्थानीय बासिन्दाले हटियाको दिन व्यापार सञ्चालन गर्छन् । द्धन्द्वकालपछि धेरै गाउँका हटियाहरू हराउँदै गए पनि पञ्चमी हटिया भने निरन्तर लाग्दै आएको छ।

यस हटियामा कृषकहरूले उत्पादन गरेका तरकारी, फलफूल, अन्न, दाल र घरेलु सामग्रीदेखि पशुचौपायासम्म किनबेच हुने गर्छ। लेकमा उत्पादन भएको र बेशीमा उत्पादित वस्तुहरू यही हटियामा ल्याएर कारोबार हुने गरेको छ जसले स्थानीयलाई सहज हुने गरेको स्थानीय यामबहादुर खत्रीले बताउनुभयाे।

हटियाको सुरुवाती समयमा सबै कारोबार नगदमै हुने भएता पनि नगदमा बिक्री नहुने वस्तुहरू साटासाट गरेर किनबेच गर्ने प्रचलन पनि रहँदै आएको छ । गाउँमा उत्पादन भएका वस्तुहरूको बिक्री तथा साटफेरमार्फत पनि हटिया परम्पराले निरन्तरता पाइरहेको स्थानीय सहरसिंह तामाङले बताउनुभयाे।

साविकका ४ वटै गाविसको केन्द्रमा रहेको यो हटिया गाउँको आर्थिक क्रियाकलापको मुख्य आधार हो। यद्यपि पछिल्लो समय बढ्दो शहरीकरण, गाउँमा पसलहरूको विस्तार, तीव्र बसाइँसराइ र युवाहरू रोजगारीका लागि गाउँ बाहिरिनुले हटियाको आकर्षणमा कमी भने आएको छ।