Logo ११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026


निर्वाचन कानूनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न प्रधानमन्त्री कार्कीसँग महिला नेतृको माग

मागकाे बारेमा मन्त्रिमण्डलमा छलफल गर्ने कार्कीकाे प्रतिवद्धता

416
Shares

काठमाडाैं। पहिलो संविधान सभाका ४ सभासदसहितको टोलीले निर्वाचन कानूनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग गर्दै प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेकाे छ।

डा. बिन्दा पाण्डे, रेणु चन्द, अमृता थापामगर र सुनिलबाबु पन्त लगायतको टोलीले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ नै ५० प्रतिशत महिला उम्मेदवार उठाउन कानूनमै सुनिश्चित गर्नुपर्ने माग गरेको हो। संविधानले समानुपातिक समावेशीको सिद्धान्त अवलम्बन गरेको भएपनि निर्वाचन कानूनले संविधानको यो मर्म आत्मसात गर्न नसकेकाले अध्यादेश ल्याएर भए पनि सच्याउनुपर्ने टोलीको माग छ।

प्रतिनिधिमण्डलमा उषाकिरण तिमिल्सिना, सम्झना पौडेल र प्रतीक्षा चापागाईलगायतको पनि सहभागिता थियो । प्रधानमन्त्री कार्कीले प्रतिनिधिमण्डलले अघि सारेका मागकाे बारेमा मन्त्रिमण्डलमा छलफल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले निर्वाचन खर्चिलो हुन नदिने उपायतर्फ पनि सोच्नुपर्ने धारणा राख्नुभएकाे छ। खर्चिलो निर्वाचनका कारण पनि भ्रष्टाचार र चुनावी बेथिति बढेको उहाँको भनाइ थियो।