Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


शिक्षक संघ-संगठनलाई मान्यता नदिने सरकारकाे निर्णय (सूचनासहित)

राजनीतिक गतिविधिमा संलग्न हुनेलाई पदबाट बर्खास्त गर्ने मन्त्री पुनकाे चेतावनी

2.4k
Shares

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूले पेशागत आचरण र कर्तव्यविपरीत राजनीतिक गतिविधिमा संलग्न भएको र शैक्षिक गुणस्तर खस्किएको गुनासो आएको बताउनुभएकाे छ।

साेही गुनासाेसँगै राजनीतिक क्रियाकलापमा संलग्न हुनेलाई प्रचलित कानून अनुसार पदबाट बर्खास्तसम्मको कारबाही गर्ने उहाँले चेतावनी समेत दिनुभएकाे हाे। मन्त्री पुनले आइतबार एक सूचना जारी गर्दै कुनै पनि पेशागत ऐनहरूले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेशागत हकहित र अधिकार प्राप्तिको लागि सौदाबाजी गर्ने बाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार नदिएको समेत बताउनुभएकाे हाे।

‘राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा पदबाट बर्खास्त गर्न सकिने सम्मको कानूनी कारबाही हुने व्यवस्था रहेको विषय ध्यानाकर्षण गराउँदछौं जारी सूचनामा भनिएकाे छ। दलका भ्रातृ तथा शुभेच्छुक संगठनको रूपमा बनाइएका शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघ-संगठनहरूलाई मन्त्रालयले मान्यता नदिने निर्णय गरेको समेत उहाँले जानकारी गराउनुभयाे।

शिक्षक-कर्मचारीको संवैधानिक हकको सम्मान गर्दै शिक्षक महासंघ लगायतका सबै क्रियाशील संघ-संगठनहरूलाई गैर-राजनीतिक चरित्रको, स्वतन्त्र र व्यवसायिक प्रकृतिको बनाउनका लागि कानूनी प्रबन्धसहित पुनर्गठन गर्न समेत जारी सूचनामा उल्लेख गरिएकाे छ।