Logo २८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026


एकीकृत समाजवादीसँगको यात्रा सकियो : रामकुमारी झाँक्री


1.6k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी प्रमुख नेतृ रामकुमारी झाँक्रीले पार्टीसँगको आफ्नो राजनीतिक यात्रा समाप्त भएको घोषणा गरेकी छन्।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले एकीकृत समाजवादी पार्टी दिउँसो १ बजेदेखि औपचारिक रूपमा विघटन हुने जानकारी दिँदै आफ्नो अध्याय पनि सकिएको बताइन्।

उनले भनिन्, “एकीकृत समाजवादीसँगको यात्रा र अध्याय सकियो। अहिले हामी नयाँ मोडमा छौं।” झाँक्रीले नेपालमा जेन–जी आन्दोलन र लोकतान्त्रिक चेतनाको जागरणका बीच राजनीतिक दलहरूमाथि प्रश्न उठिरहेको उल्लेख गर्दै, लोकतन्त्रको प्रत्याभूति र शान्ति–सुरक्षाका लागि दलहरू आफैं जिम्मेवार बन्नुपर्नेमा जोड दिइन्।

उनका अनुसार, एमाले र माओवादी मिलेर बनेको तत्कालीन नेकपाले आन्तरिक लोकतन्त्रको संस्कार कमजोर पारेको थियो। अहिले माओवादी केन्द्र, एकीकृत समाजवादीसहित नौ दलबीच हुन लागेको एकताले पनि लोकतन्त्रको आधार कमजोर पार्ने चिन्ता व्यक्त गरिन्।

बुधबार नै माओवादी केन्द्र, एकीकृत समाजवादीसहित नौ दलबीच एकता हुँदैछ र नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहने भएको छ। झाँक्रीसहित एकतामा सहभागी नहुने नेताहरू भने एमालेमा प्रवेशको तयारीमा छन्।