Logo १८ कार्तिक २०८२, मंगलबार | Tue Nov 4 2025


माओवादी केन्द्र: विग्रहकाबीच पनि एकता प्रस्ताव अनुमोदन (भिडियाे रिपाेर्ट)


351
Shares

काठमाडाैं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले पार्टी एकता सम्बन्धी प्रस्ताव पारित गरेको छ।

काठमाडौंमा मंगलबार बसेको आयोजक समितिको अन्तिम बैठकबाट एकता प्रस्तावलाई पारित गरिएको हाे । यस अघि नै एकताको सहमतिपत्रमा हस्ताक्षर गरिसकिएको र त्यहीं सहमतिपत्रलाई आयोजक समितिको बैठकबाट अनुमोदन गरिएको छ। योसँगै बुधबार माओवादी केन्द्र एकीकृत समाजवादी लगायतका ९ घटक एक भएर नेपाली कम्युनिष्ट पार्टी नामक नयाँ पार्टी घोषणा गर्ने तय भएको छ। एकता प्रक्रियाका कारण एकीकरण जाने मुख्य घटक माओवादी र एकीकृत समाजवादी विभाजन हुने अवस्थामा पनि एकीकरण गर्न लागिएको हो।

१० वर्षे सशस्त्र युद्ध हुँदै २०६३ सालमा राज्यसंग शान्ति सम्झौता गरी शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको माओवादी केन्द्र पहिलो दल बन्नेदेखि पटक-पटक विभाजनसम्मका घटनाक्रमबाट गुज्रिदै आएको छ। पार्टीभित्रको अन्तर्संघर्षले मोहन वैद्य किरणदेखि डा. बाबुराम भट्टाईसम्म बाहिरिइसकेका छन । पछिल्लो पटक एमालेसँगको एकीकरण र विभाजन पछि माओवादीले अहिले ९ घटकसँग एकता गर्दै छ।

तर यस पटक पनि सिंगो पार्टी भने एकता प्रक्रियामा नजाने भएको छ। माओवादीका प्रभावशाली नेता जनार्दन शर्मा, राम कार्कीलगायतका केहि नेताहरु फेरि बाहिरिएका छन्। तीन दशक भन्दा लामो समयदेखि पुष्पकमल दाहालकै नेतृत्वमा रहेको माओवादी केन्द्रले बीच-बीचमा छुटेर गएकाहरुसँग एकता गर्ने र छुट्ने प्रक्रिया निरन्तर नै देखिन्छ । यस पटकको एकीकरणलाई जेनजीसहितका युवा पुस्तालाई सामेल गर्ने तथा नेपाली कम्युनिष्ट आन्दोलनको नयाँ शिराबाट एकीकरण र पुनर्गठनका लागि यो प्रक्रिया अगाडि बढाइएको माओवादीका नेता नारायणकाजी श्रेष्ठकाे दावी छ।

नेपाली कम्युनिष्ट पार्टीभित्र फुट र विभाजनको विषय सामान्य जस्तै बनेको छ । पछिल्लो पटक माओवादी केन्द्र र एमालेबीच भएको एकीकरणले जनमत प्राप्त गरेपनि अदालतको फैसलालाई देखाएर अगाडि बढ्न सकेन । अहिले एकीकरण गर्दै गर्दा माओवादी केन्द्र र एकीकृत समाजवादी लागायतका दलहरु सिंगै आउने परिस्थिति बनेन। यस्तो अवस्थामा अहिले आफूहरुले गम्भिर रुपमा आधार तयार गरेकाले त्यो परिस्थिति नआउने माओवादीका नेता अग्नि सापकोटाको जिकिर छ।

एकीकरणको निर्णयलाई अनुमोदन गरेको माओवादी केन्द्रको अन्तिम बैठकमा संयाेजक दाहालले भने देशको विषम परिस्थितिले यो कमद चाल्नुपरेको तर्क गर्नुभएकाे थियाे। बुधबार घोषणा हुने एकताका लागि त्यसमा सामेल हुने पक्षले हस्ताक्षर गरिसकेका छन भने तयारी पनि अन्तिम चरणमा पुगेको छ। अहिले एकीकरण घोषणा गर्ने र निर्वाचनमा जाने तथा ६ महिनाभित्र महाधिवेशन गर्दै बाँकी काम टुङग्याउने भन्ने उनिहरुको तयारी देखिन्छ । तर जति नै छलफल गरिएको भनिए पनि सांगठनिक ढाँचा लगायतका विषयमा भने उनिहरुले पर्याप्त तयारि गरेको देखिदैन ।

जसका कारण वैचारिक रुपमा आउन सक्ने भिन्नता र नेता व्यवस्थापन लागयतको विवाद शुरुकै दिनदेखि उत्पन्न हुन सक्ने जोखिम पनि उत्तिकै छ।

भिडियाे रिपाेर्ट: