Logo १७ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025


पश्चिमा पूँजीवादीले आफूसँग असहमत रहेको सत्तालाई कमजोर बनाउन नयाँ पुस्तालाई प्रयोग गरेको महासचिव पोखरेलकाे आरोप

सामाजिक सञ्जाल नियमनमा तत्कालीन सरकार चुक्यो, युवाका माग अझै पूरा भएनन्

143
Shares

काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पश्चिमा पूँजीवादीहरुले आफूसँग असहमत रहेको सत्तालाई कमजोर बनाउन नयाँ पुस्तालाई प्रयोग गरेको आरोप लगाउनुभएको छ।

काठमाडौंमा साेमबार प्रेस चौतारी नेपालले आयोजना गरेको कार्यक्रममा बाेल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । महासचिव पोखरेलले पश्चिमा पूँजीवादीहरुले डिप स्टेटको अवधारणा अन्तर्गत नयाँ पुस्तालाई आम मानिस भन्दा फरक रहेको भन्ने नियोजित मनोविज्ञान तयार पारेको बताउनुभयो । पुरानो पुस्ताले नयाँ पुस्ताको मनोविज्ञान बुझ्न नसक्ने भाष्य सिर्जना गरेर युवाहरुलाई आफ्नो स्वार्थमा प्रयोग गरेको कारण नेपालमा जेनजी आन्दोलन भएको उहाँको भनाइ छ।

महासचिव पोखरेलले युवाहरुको माग अनुचित नभएपनि तत्कालिन सरकारसमक्ष मागलाई आउनै नदिएको बताउनुभयो । जेनजी आन्दोलनको नेतृत्वकर्ता समेत नभएको बताउदै उहाँले सरकारले संवाद गर्ने अवसर नै नपाएको दावी गर्नुभएकाे छ।उहाँले सामाजिक सञ्जाल नियमनको विषयमा भने तत्कालिन सरकार चुकेको बताउनुभयो । नवयुवाको सूचना प्रविधिमा भएको लगाव र सरकारको नियमन सम्बन्धी तालमेल नमिलेको उहाँले स्वीकार गर्नुभएकाे छ। सोही कमजोरीको लाभ गलत तत्वले उठाएको उहाँको भनाइ छ।

महासचिव पोखरेलले पूँजीवादी शक्तिहरुले युवाहरुलाई लागूऔषध र प्रविधिको लतमा फसाएर आफ्नो स्वार्थमा प्रयोग गर्दै आएको दावी गर्नुभयो ।