Logo १७ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025


पार्टी केही नेताकाे बन्धक बनेको कांग्रेस संस्थापन पक्षीय नेताको आरोप


416
Shares

काठमाडाैं । पार्टीको १५ औं महाधिवेशनको कार्यतालिकामा सहमति जुट्न नसकेपछि नेपाली कांग्रेसका संस्थापन पक्षीय नेताहरूअलग्गै छलफलमा जुटेका छन् ।

नयाँ बानेश्वरस्थित आनन्दभूमि ब्याङ्क्वेटमा साेमबार जारी उक्त छलफलमा केन्द्रीय सदस्यहरूले पार्टीको आन्तरिक जीवनलाई बलियो बनाउनको लागि महाधिवेशनको मिति तोकेर अगाडि बढ्नुपर्ने कुरामा जोड दिएका हुन् । पार्टीको इतर पक्षले आगामी मंसिरभित्रै नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने अडान राखेका छन् भने संस्थापन पक्ष निर्वाचनपछि अधिवेशन धकेल्ने पक्षमा देखिएको छ।

छलफलमा तत्काल पार्टीलाई निर्वाचनको तयारीमा केन्द्रित गर्दै सँगसँगै महाधिवेशनको तयारी कसरी अगाडि बढाउने भन्ने विषयमा भइरहेको छलफलमा सहभागी पार्टी केन्द्रीय सदस्य गुरु बरालले बताउनुभयो । उहाँले पार्टीको आन्तरिक जीवनलाई बलियो बनाउने गरी महाधिवेशनको मिति तोकिनुपर्ने पनि बताउनुभएकाे छ। उहाँले महाधिवेशन र चुनावको तयारी सँगसँगै कसरी गरेर जाने भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो । पछिल्लो समय पार्टी केही नेताको बन्धक बनेको भन्दै छलफलबाट केन्द्रीय समितिमा प्रस्ताव लैजाने तयारी भइरहेको पनि उहाँले बताउनुभएकाे छ।

महाधिवेशनको कार्यतालिकामा सहमति जुट्न नसक्दा पार्टीको केन्द्रीय समिति बैठक बस्न सकिरहेको छैन । अर्को बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ।