Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


पार्टी एकताको संवादले विभाजन हुँदै राजनीतिक दल

पार्टी एकताले माओवादीभित्र पनि ठूलै हलचल ल्याउने संकेत

2.3k
Shares

काठमाडाैं । नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेपछि नेकपा एकीकृत समाजवादी विभाजनको संघारमा पुगेको छ।

एकीकृत समाजवादीको केन्द्रीय समितिको बहुमतले निर्णय लिएपछि अर्को पक्षले त्यसैलाई पुर्नगठन गरेर जाने निर्णय गरेको हाे । समाजवादीसँगको एकीकरणको विषयलाई लिएर माओवादी केन्द्रभित्र समेत विवाद बढेकाे छ। जसले कम्युनिष्ट एकताको कुरा गरिरहने र केही मानिस जोडिने स्थिति त बनेको देखिन्छ । तर यहि विषय दल विभाजको कारण पनि बनेको छ। पछिल्लो एकीकरणले माओवादी केन्द्र, एकीकृत समाजवादीदेखि नेत्र विक्रम चन्द नेतृत्वको नेकपासम्ममा हलचल ल्याउने देखिएको छ।

माओेवादी केन्द्रले एकीकृत समाजवादी लगायतका विचार मिल्ने दलहरुसँग एकताको प्रयास अगाडि बढाउने भनेर छलफल थालेको लामो समय भयो । तर उसले सोचे जस्तो गरि परिस्थिति सिर्जना भएन, एकीकृत समाजवादी तयार भयो तर विभाजन हुने स्थीति बन्यो । उता चन्द नेतृत्वको नेकपा समेत विवाद नै हुने स्थितिमा पुग्यो । यसले माओवादीसँग जोडिने आउने शक्तिहरुमा समस्या देखा पर्याे । त्यो उसँग जोडिन आउने दलसँग मात्रै होइन, माओवादी केन्द्रभित्र पनि देखिएको छ । नेता जर्नादन शर्माले त खुलेरै यसको विरोध नै गर्नुभएको छ । उहाँको भनाइ छ अहिले चालिएको कदम उपयुक्त छैन ।

माओवादी केन्द्रसँग एकतामा जाने निर्णय गर्दै एकीकृत समाजवादीभित्र ठूलो विरोध र विभाजनको स्थिति बन्यो । पार्टीको केन्द्रीय कमिटीले बहुमतका आधारमा निर्णय त गर्यो तर त्यसभित्र प्रभाव राख्नेका सम्मानित नेता झलनाथ खनाल र नेतृ रामकुमारी झार्कीसहितका नेताहरु एकताको विरोधमा उभिएका छन् ।

केन्द्रीय समितिको बैठकमा विरोधमा उभिएको यो समुहले छुट्टै भेला गरेर एकीकृत समाजवादीलाई नै पुर्नगठन गरेर जाने तयारी गरेको छ । उसले त्यो छलफल अगाडि नै बढाइसकेको छ । यता केन्द्रीय कमिटीको निर्णय पछिको बाँकी कामका जिम्मेवारी सचिवालयलाई दिइएको छ।

पार्टी अध्यक्ष माधव कुमार नेपाल पक्षका नेता प्रकाश ज्वालाले भने माओवादीसँग एकता गर्नुपर्नेमा जाेड दिनुभएकाे हाे। यसरी माओवादी केन्द्रसहितका केही घटकहरुको एकीकरणका लागि छलफल त चलेको छ। तर त्यो एकीकरणमा जोडिने दलहरु भने विभाजनमा जाने निश्चित भएको छ । एकीकृत समाजवादी मात्रै होइन माओवादीसँग जोडिनकै लागि चन्द्र नेतृत्वको एउटा पक्ष विभाजित भइसकेको छ। त्यो समूह पनि माओवादी केन्द्रसँग एकीकरणमा जाने तयारी मै छ।

यसरी एकीकरणमा आउने र माओवादी स्वयमभित्र पनि यो प्रक्रियाले ठूलै हलचल ल्याउने वातावरण निर्माण गरेको छ।