Logo १६ कार्तिक २०८२, आइतबार | Sun Nov 2 2025


लिम्बु समुदायको समाधिस्थल संकटमा


845
Shares

तेह्रथुम। नेपालमा विभिन्न भू-भागमा बसोबास गर्दै आएका जातजातिहरूको आ-आफ्नै भाषा, कला, संस्कार र संस्कृति रहँदै आएको छ।

त्यस्तै, पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बु समुदायको पनि छुट्टै संस्कार र परम्परा रहेकाे छ । साेही समुदायमा पछिल्लो समय सामुहिक अन्त्येष्टि गर्ने परम्परा भने हट्दै जाँदा लिम्बु समुदायको समाधिस्थल संकटमा परेको छ।

लिम्बु समुदायले आफूलाई आदिमकालदेखि नै नेपालको पूर्वी भू-भागमा बसोबास गर्दै आएको समुदायको रूपमा लिने गरेको छ । जन्मदेखि मृत्युसम्म आफ्नै संस्कार–संस्कृति रहेको यस समुदायमा मृत्युपश्चात पनि विशेष परम्परा छ । यो समुदायले मृत्युपश्चात निश्चित समाधिस्थलमा दाहसंस्कार गर्ने परम्परा छ।

भूमिसुधार लागू हुनु पूर्व किपट प्रथामा रहेका लिम्बुहरूले आफ्ना आफन्तको मृत्युपछि समाधिस्थलमै चिहान बनाएर अन्त्येष्टि गर्ने गरेका थिए। सम्पन्न परिवारले कपुरथान अर्थात् पक्की चिहान बनाउने परम्परा रहँदै आएको थियो । तर पछिल्लो समय सामूहिक रूपमा दाहसंस्कार गर्ने परम्परा तोडेर निजी जग्गा र घर नजिक समाधिस्थ गर्ने प्रचलन बढेकाे लिम्बुभाषा तथा संस्कृति अभियान्ता दिल पाक्साङवाले बताउनुभयाे।

पुस्तौदेखि प्रयोग हुँदै आएका समाधिस्थलहरूमा अहिले जग्गा अभाव छ। त्यसमाथि सरकारले सामुदायिक वनको अवधारणा ल्याएपछि लिम्बुहरूको संस्कार–संस्कृति झनै संकटमा परेको लिम्बु पत्रकार संघका अध्यक्ष सन्देश सुब्बाकाे भनाइ छ। दाहसंस्कारपछि आफन्तको सम्झनामा चौतारा, धर्मशाला, पाटी निर्माण गर्ने वा वर–पिपल रोप्ने परम्परा पनि रहँदै आएको छ ।

पूर्वको तेह्रथुम, धनकुटा, संखुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी लगायत राजधानी र विदेशसम्म पनि लिम्बु समुदायको बसोबास रहेकाे छ ।