काठमाडाैं । सरकारले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सेवा सुविधा घटाएको छ।
सिंहदरबारमा बुधवार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभएकाे हाे। बिहीबार बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले गृह मन्त्रालयको सिफारिसमा आगामी मंसिर ८ देखि ११ गतेसम्म मोरक्कोमा हुने ९३ औं इन्टरपोल महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीलाई स्वीकृति दिने निर्णय भएको पनि बताउनुभयो ।
बैठकले राष्ट्रिय सभा सदस्यको रिक्त पद पूर्तिका लागि आगामी माघ ११ गते लागि निर्वाचनको मिति तोकेको उहाँले बताउनुभयो । विभिन्न सरकारी निकायका सेवाहरूलाई प्रचलित कानूनले तोकेको सुरक्षा मापदण्ड पूरा गरेको प्रमाणित गरी विद्युतीय प्रणालीमार्फत राष्ट्रिय परिचय व्यवस्थापन प्रणालीमा पहुँच प्रदान गर्ने निर्णय गरेको पनि मन्त्री खरेकाे भनाइ छ।
यस्ता छन् बुधबारको मन्त्रिपरिषद बैठकले गरेका बाँकी निर्णयहरू :
१. संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को अनुसूची २ मा हेरफेर गर्ने । (पदाधिकारी तथा सदस्यको सचिवालयको दरभर्दी घटाइएको)
२. २०८२ मंसिर ६ देखि १३ गतेसम्म पेरूमा आयोजना हुने इन्टरनेशनल ट्रेटी अन प्लान्ट जेनेटिक रिसोर्स फर फूड एण्ड एग्रिकल्चरको ओभर्निङ बडीको ११औं अधिवेशनमा सहभागि हुन डा. गोविन्द प्रसाद शर्मालाई स्वीकृति दिने ।
३. २०८२ मंसिर ८ देखि ११ गतेसम्म मोरक्कोमा आयोजना हुने ९३औं इन्टरपोल महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीलाई स्वीकृति दिने ।
४. राष्ट्रिय सभा सदस्यको रिक्त पद पूर्तिका लागि २०८२ माघ ११ गते आइतबार निर्वाचनको मिति तोक्ने ।
५. देहायका सेवाहरूलाई प्रचलित कानूनले तोकेको सुरक्षा मापदण्ड पूरा गरेको भनी विद्युतिय प्रणालीमार्फत राष्ट्रिय परिचय
व्यवस्थापन प्रणालीमा रहेको तथ्यांकमा पहुँच उपलब्ध गराउन सक्ने गरी सेवा तोक्ने :
वैदेशिक रोजगार सम्बन्धी
अदालतका मुद्दा व्यवस्थापन सम्बन्धी
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति सेवासम्बन्धी
स्थानीय तहको पञ्जीकरण, नागरिकता, सामाजिक सुरक्षा, राहत तथा विपद् व्यवस्थापन सम्बन्धी
अध्यागमन सेवासम्बन्धी
बन्दीको पहिचान, प्रमाणिकरण तथा बन्दीहरूका विवरण सम्बन्धी
६. समरजंग कम्पनी कार्यालयलाई गृह मन्त्रालयअन्तर्गत रहने गरी संगठन तथा व्यवस्थापन संरचना गर्न पूर्ण स्वीकृति दिने ।
७. बेल्जियमको ब्रसेल्समा आयोजना हुने नेपाल–युरोपेली संघबीचको संयुक्त आयोगको सोह्रौं बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिवको नेतृत्वमा प्रतिनिधिमण्डललाई स्वीकृति दिने ।
८. कतारको दोहामा आयोजना हुने सेकेन्ड वल्र्ड समिट फर सोसियल डेभलपमेन्ट कार्यक्रममा २०८२ कात्तिक १७ देखि २० गतेसम्म सहभागी हुन सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने।
९. नेपाली सेनाका एक जना प्रमुख सेनानीलाई महासेनानीमा र एक जना सहायक रथीलाई उपरथीमा बढुवा गर्ने ।
१०. २०८२ मंसिर १ देखि ३ गतेसम्म थाइल्यान्डको बैंककमा आयोजना हुने छैठाैं सेसन अफ द टोकियो कन्भेन्सन कमिटी-नवौं सेसन अफ द बैंकक कन्भेनसन कमिटी कार्यक्रममा सहभागि हुन सचिव (शिक्षा) श्री चूडामणी पौडेललाई स्वीकृति दिने ।
११. छापाखाना र प्रकाशन सम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने ।




प्रतिक्रिया दिनुहोस्