Logo १३ कार्तिक २०८२, बिहिबार | Thu Oct 30 2025


खगेन्द्र सुनारलाई ५० हजार रूपैयाँ धरौटीमा छोड्न अदालतको आदेश


1.4k
Shares

काठमाडाैं । काभ्रेपलाञ्चोक जिल्ला अदालतले बिहीबार खगेन्द्र सुनारलाई धरौटीमा छोड्ने आदेश दिएको छ।

न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले सुनारलाई ५० हजार रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको अदालतका श्रेस्तेदार इन्दिरा कार्कीले जानकारी दिनुभएको हो । अदालतको अपहेलना र अधिवक्तालाई अपशब्द अभिव्यक्ति दिएकाे आरोपमा विद्युतीय कारोबारको आरोप लागेर पक्राउ गर्न पूर्जी जारी भएका सुनार बिहीबार बिहान अदालतमा उपस्थित भएका थिए ।

अधिवक्ता मनिषा गौतमविरुद्ध अपशब्द प्रयोग गर्दै फेसबुक स्टाटस लेखेको, सामाजिक सञ्जालमा लाइभ बसेर गालीगलोज गरेको आरोपमा सुनारमाथि साइबर ब्यूरोमा उजुरी परेको थियो । गौतमको स्थायी ठेगाना काभ्रेपलाञ्चोक भएका कारण ब्यूरोले उक्त मुद्दालाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाएको थियो । अनुसन्धानका क्रममा सुनार फरार रहेका कारण प्रहरीले फरार राखेर गत साउन २ गते अदालतमा मुद्दा पेश गरेको थियो ।

जिल्ला अदालतमा २०८२ सालको साउनमा दोस्रो मुद्दाको रुपमा दर्ता भएको (८२ सी१–००२ नम्बर) को मुद्दा सरकारवादी फौजदारीको रुपमा दर्ता भएको थियो । त्यसको तीन दिन पछाडि साउन ५ गते सुनारलाई पक्राउको लागि जिल्ला अदालतले सुनारको स्थायी ठेगाना भएको प्रहरी कार्यालय दैलेखमा पक्राउ गर्न पुर्जी जारी गरेको थियो ।

अदालतका श्रेस्तेदार कार्कीका अनुसार, गत साउन ५ गते ७ दिन र ३५ दिन म्याद राखेर पक्राउ पुर्जी जारी गरेको थियो ।पछिल्लो पटक मन्त्रिपरिषद विस्तार हुँदा सुनारको नाम समेत सिफारिस भएको थियो । सुनारमाथि विभिन्न मुद्दाका विषय बाहिरिएपछि अन्तिम समयमा नाम सूचीबाट हटाइएको थियो ।