काठमाडाैं । नेपाली बजारमा हालसम्मकै उच्च बिन्दुमा पुगेर रेकर्ड तोड्दै गइरहेको सुनको मूल्य फेरि पछिल्ला दिनहरुमा ओरालो लाग्न थालेको छ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा पनि केही दिनयता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको हाे ।गत आइतबार एकै दिन प्रतितोला ११ हजार ६ सय रुपैयाँले घटेर २ लाख ४१ हजार ९ सय कायम भएको सुनको मूल्य सोमबार पुनः तोलामा २ हजार रुपैयाँले घटेर २ लाख ३९ हजार ९ सयमा किनबेच भएको थियो । मंगलबार फेरि प्रतितोला २ हजार ९ सय घटेपछि २ लाख ३७ हजारमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा मंगलवार सुन प्रतिऔंस ३ हजार ९ सय ७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । यसरी पछिल्लो दिनहरुमा ओरालो लागेको सुनको मूल्य अझै घट्ने व्यवसायीहरुको आंकलन रहेको छ । महासंघका प्रथम उपाध्यक्ष धर्मरत्न बज्रचार्यले सुनको मूल्य उच्च बिन्दुमा पुगिसकेकाले अब बढ्ने भन्दा पनि निरन्तर रुपमा ओरालो लाग्ने क्रममा रहेको बताउनुभयो।
उहाँले भन्नुभयाे,-‘प्रतितोला २ लाख ५८ हजार पुगेको सुनको मूल्यमा भारी गिरावट आइसकेको छ । यो क्रम निरन्तर चल्ने देखिन्छ । पछिल्लो समय अमेरीकामा सुन बाहेक अन्य क्षेत्रमा लगानीका लागि वातावरण बन्दै गर्दा लगानीकर्ता अन्यत्र डाइभर्ट भएकाले सुनको मूल्य घट्ने क्रम शुरु भएको हो।’
महासंघका उपाध्यक्ष बज्रचार्यले भन्नुभयो,- ‘सुनको मूल्य धेरै नै बढिसकेको थियो । २ लाख ५८ हजार भनेको धेरै नै बढी सकेको अवस्था हो । कुनै न कुनै दिन झर्न त पर्ने नै हो । अब माथि गएर झर्छ कि अब यहिँबाट झर्छ भन्ने कुरा थियो । तर यो बीचमा तिहार थियो । तिहारमा खासगरी नेपालसँगै भारतमा धेरै सुनको खपत हुन्छ । धेरै खपत हुने हुँदा मूल्य बढ्न अलिकति मद्दत गरिरहेको थियो । चाडपर्व सकिएसँग भारतमा पनि अलिकति माग घटेको छ । र यहीं दौरानमा जुन अस्तिको दिनहरूमा अमेरिकाले चाइनालाई जुन ट्यारिफहरू बढाइसकेपछि चाइनाबाट जुन रियर अर्थ चाइनाले अमेरिकामा सप्लाई गर्दिन भनेर नगरेको अवस्था देखियो । त्यसले गर्दा अमेरिकामा भएका इलेक्ट्रोनिक्स कम्पनीहरूमा असर पुग्यो र त्यो कारणले गर्दा पछिल्लो पटक अमेरिकामा अलिकति अन्याैलको वातावरण भइसकेपछि पनि सुनको मूल्यहरू माथि जान चाहीँ नि मद्दत गरिरह्यो । नेपालमा तिहार चलिरहेका बेला अमेरिकाले अस्ट्रेलियासँग रियर अर्थको विषयमा एउटा सम्झौता गरेको छ । अस्ट्रेलियाले हामी दिन्छौं अमेरिकालाई रियर अर्थ भनेर भनिसकेपछि सम्झौता भयो । एउटा कारण त्यो पनि हो । अर्को एउटा कारण अब यो दुई–तीन दिन अगाडि मात्रै अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहीं एशियन देशहरूको भ्रमण गरेको अवस्था देखियो । र चिनियाँ राष्ट्रपतिकोसँग पनि कुरा भएको भन्ने सुनियो र त्यसमा सम्झौता भएको पनि छ, यो बिजनेसको विषयमा र त्यसले गर्दा अब चाहीं केही मन्थर हुन्छ र अमेरिकाको जुन ट्रेड वार जुन थियो। त्यो अलिकति हल्का हुन्छ भन्ने हिसाबले नै यो अहिले सुनमा लगानी गर्नेहरू अरू सेक्टरमा डाइवर्ट भएको देखियो । अहिले यो दुई–चार दिनदेखि हामी देख्दैछौं अमेरिकाको जुन डाउ जोन्स लगायतका शेयर मार्केटहरू अलिकति बढेको देखिएको छ । यसको मतलब अलिकति मान्छे सुनबाट अरू सेक्टरमा डाइवर्ट भएको देखियो । त्यो कारणले गर्दा खेरि पनि अहिले सुनको माग अलि कम भएको छ र सुन अलिकति घटेको हो ।’
बज्रचार्यका अनुसार अहिले सुनको मूल्य घटे पनि खासै कारोबार भएको छैन । अन्तर्राष्ट्रिय क्षेत्रमा ट्रेडवार कम हुँदै जाँदा लगानीकर्ताहरू डाइवर्ट भएको देखिएकाले सुनको किनबेच कम भएको छ । पछिल्ला परिस्थितिहरु आंकलन गर्दा अहिले तत्कालै सुन प्रतिऔंस २-४ सय डलर घट्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।




प्रतिक्रिया दिनुहोस्