Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


सोलुखुम्बुकाे ग्रामीण क्षेत्रका महिलाहरू निउरो बेचेर जीविकाेपार्जन गर्दै


130
Shares

सोलुखुम्बु । सोलुखुम्बुका महिलाहरुले वर्षायाममा जङ्गलमा पाइने निउरो बेचेर परिवारमा लागि खर्च जुटाउने गरेका छन् ।

जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दाले राम्रो आम्दानी गर्दै आएको निउरोको व्यापार वर्षायाममा राम्रै फस्टाएको हाे। यसमा पनि अधिकाँश महिलाहरु रहेका छन् । यो सिजनमा बजारमा हरियो सागपात जस्ता तरकारीको अभाव भइरहेको बेला जङ्गलमा पाइने निउरो विना लगानीमा उत्पादन हुने भएकाले सदरमुकाम सल्लेरीको नयाँ बजारमा व्यापार गरेर केही कृषकहरुको घर खर्चमा टेवा पुगेको हो ।

शुक्रबारको दिन बिहानै खाना खाएर जङ्गल पसेर डोकोभरी निउरो खोजेर ल्याउनु र शनिबारे हाटमा बेच्नु काँकुकी ङिमा शेर्पाको नियमित कार्य जस्तै बनेको छ । उहाँ प्रत्येक शनिबार नबिराईकन हाटमा निउरोको व्यापार गर्नुहुन्छ र घर खर्चको जोहो गर्दै आउनुभएकाे हाे। घरमा छोराछोरीको पालनपोषण तथा व्यवहार चलाउनुपर्ने शेर्पाले वषौंदेखि निउरो तथा च्याउको व्यापार गरेर घर खर्चको केही हिस्सा धानेको उहाँकाे भनाइ छ। रोप्ने र गोड्ने काम गर्नु नपर्ने भएकाले आम्दानी त राम्रै उहाँकाे तर्क थियाे। तर यो सिजनमा मात्र हुने भएकाले अन्य सिजनमा अरुनै काम खोज्नु पर्ने उहाँले बताउनुभयाे।

एक पटकमा एक हजारदेखि एक हजार पाँच सयसम्मको निउरो बेच्दै आएकी शेर्पाले प्रति मुठा २० रुपैयाँदेखि ३० रुपैयाँसम्म लिने गरेको बताउनुभयो । थोरै मात्रामा निउरो आएको बेला अलि राम्रो मूल्य पाउने गरेको उहाँको भनाइ छ । शुक्रबार घरका छोरा-छोरीलाई समेत जङ्गलमा लगेर निउरो खोज्न लगाउने शेर्पाले गरिबीका कारण नियमित बच्चालाई विद्यलाय पठाउन नसकेको गुनासो समेत गर्नुभयो ।

पछिल्लो समयमा जिल्लाका अन्य जङ्गलबाट पनि केहीले निउरो खोजेर बजारमा बिक्री गरी आम्दानी गरिरहेका भएता पनि बजारमा काँकुकै निउरो बढी र नियमित आउने गरेको छ । यता नेले जोगाराकी राधा सुनुवारलेले पनि सिजनमा निउरोको व्यापार गरेर खर्च चलाउने गरेको बताउनुभयो । त्यसैगर सल्लेरीकी कमला बस्नेतले पनि निउरो सिजनको राम्रो तरकारी भएको बताउनुभएकाे छ ।

सदरमुकामका कर्मचारीहरु तथा स्थानीयले निउरोलाई बजारमा नयाँ जातको तरकारी भन्दै किन्ने गरेको व्यापारीहरुले बताएका छन्। तरकारीका साथै अचार बनाउन समेत निउरोको प्रयोग गरिन्छ । स्कुलमा बिदा भएका समयमा विद्यार्थीहरु पनि समयको सदुपयोग गर्दै निउरो टिपी बजारमा बिक्री गरी स्टेसनरी खर्च जुटाउदै आएका हुन् ।