Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


राष्ट्रपति र प्रधानमन्त्रीको छठका अवसरमा शुभकामना


78
Shares

काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।

छठ पर्वको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले यो पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति एवं विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, आपसी सद्भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्ने विश्वास ब्यक्त गर्नुभएको हो ।

छठ पर्वले दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि थप सहयोग पुग्ने अपेक्षा पनि राष्ट्रपति पौडेलको छ । यस्तै प्रधानमन्त्री सुशीला कार्कीले पनि सत्य, अहिंसा र प्रकृति प्रेममा अभिप्रेरित गर्ने यस पर्व हामी नेपालीको सांस्कृतिक र सामाजिक रूपमा समेत तराई–पहाड जोड्ने सेतु बनिरहेको बताउनुभएको छ ।

छठ पर्वको शुभकामना दिँदै उहाँले आगामी निर्वाचनलाई पनि एक राष्ट्रिय पर्वका रूपमा ग्रहण गरी त्यसमा सहभागी हुन र सफल बनाउन आव्हान पनि गर्नुभएको छ ।

प्रधानमन्त्री कार्कीले आफ्ना कुनै अडान वा असन्तुष्टि छन् भने पनि आउँदो फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनबाट अनुमोदन गराउन सबै पक्षलाई अपिल समेत गर्नुभएको छ ।

अहिलेको अवस्थामा सबै नेपालीबीच अझै बढी एकता र सद्भावको खाँचो औल्याउँदै उहाँले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सामान्यीकरण गर्दै निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व रहेकोे उल्लेख गर्नुभएको छ ।