काठमाडौँ ।
नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले शुक्रबार पदभार ग्रहण गरेकी छन् ।
मन्त्री गौतमले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै सिंहदरबारस्थित कार्यालय पुगेर पदभार ग्रहण गरेकी हुन् ।
पदभार ग्रहण गर्दै उनले जेनजी आन्दोलनका घाइते तथा प्रभावितको लागि निःशुल्क मनोसामाजिम परामर्शको व्यवस्था गर्ने निर्णय गरेकी छन् । विज्ञहरूको सुझावको आधारमा मनोसामाजिक परामर्श कसरी दिने भन्नेबारे छलफल गरेर कार्य अगाडि बढाउने उनको भनाइ छ ।
“जेनजी आन्दोलनबाट प्रभावित सबै व्यक्तिहरूको लागि मनोसामाजिक परामर्श सेवाको व्यवस्थापन गर्ने पहिलो निर्णय भएको छ । यसको डिटेल हाम्रो विज्ञहरूबाट वर्कआउट हुन्छ त्यसपछि फेरि तपाईंहरूलाई बताउँछु,” उनले भनिन् ।
उनले जेनजी आन्दोलनका शहीद परिवारलाई नि:शुल्क स्वास्थ्य वीमा सेवा उपलव्ध गराउनका लागि अर्थ मन्त्रालयसंग सल्लाह गर्ने योजनामा रहेको समेत जानकारी दिइन् ।
पूर्वस्वास्थ्य सचिवसमेत रहेकी गौतमले जटिल अवस्थामा स्वास्थ्यको नेतृत्व गर्न आएको भन्दै भ्रष्टाचारविरुद्ध र सुशासनमा आफ्नो प्रयास रहने बताईन् ।




प्रतिक्रिया दिनुहोस्