काठमाडाैं ।
चीन र संयुक्त राज्य अमेरिकाबीचको पछिल्लो व्यापार वार्ता मलेसियाको राजधानी क्वालालम्पुरमा सुरु भएको छ ।
अमेरिकी अर्थ मन्त्रालयका प्रवक्ता र चीनको सरकारी मिडियाले उक्त वार्ताको पुष्टि गरेका छन् ।
यो वार्ता आगामी हप्ता दक्षिण कोरियामा हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चीनफिङबीचको बहुप्रतिक्षित भेटको पूर्वतयारीस्वरूप प्रारम्भ गरिएको बताइएको छ । बेइजिङको वाणिज्य मन्त्रालयका अनुसार उपप्रधानमन्त्री हे लिफेङको नेतृत्वमा चिनियाँ प्रतिनिधिमण्डल मलेसियामा सोमबारसम्म रहनेछ ।
अर्थतन्त्रमा बलिया विश्वका दुई ठूला मुलुक पछिल्ला वर्षहरूमा चलेको प्रतिशोधात्मक कर युद्धबाट थप हानि बेहोर्नु नपरोस् भनेर सहमतिको खोजीमा छन् । राष्ट्रपति ट्रम्प र राष्ट्रपति सीबीचको भेट आगामी बिहीबार दक्षिण कोरियामा आयोजना हुने एसिया–प्यासिफिक आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको साइडलाइनमा हुने अपेक्षा गरिएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले केही दिनअघि उक्त बैठक रद्द गर्न सक्ने चेतावनी दिएपनि उहाँले पुनः चीनसँग ‘राम्रो सम्झौता’ गर्न चाहने र व्यापार युद्ध अन्त्य गर्ने आशा प्रकट गर्नुभएको छ ।चीनको सरकारी समाचार संस्था सिन्ह्वाले पनि दुई देशका प्रतिनिधिमण्डलबीच ‘बैठक भएको’ उल्लेख गरेको छ ।
यसैबीच, बेइजिङले हालै आफ्नो दुर्लभ पृथ्वी (खनिज तत्व) उद्योगमा व्यापक नियन्त्रण लगाउने निर्णय गरेपछि वासिङ्टनले त्यसको प्रतिकारमा चीनबाट आयात हुने सामानमा एकसय प्रतिशतसम्म कर लगाउने धम्की दिएको थियो ।
दुवै देशले एकअर्काका जहाजहरूमा आगमन शुल्क लगाउन थालेका छन् ।




प्रतिक्रिया दिनुहोस्