Logo ८ कार्तिक २०८२, शनिबार | Sat Oct 25 2025


सडकमा जान जरुरी छैन : गृहमन्त्री अर्याल


1.3k
Shares

काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीले सुरक्षा निकायका प्रमुखसँग सामूहिक छलफल गरेकी छन् ।

विभिन्न राजनीतिक दलले प्रदर्शन गर्ने तयारी गरिरहेका बेला प्रधानमन्त्री कार्कीले गृहमन्त्री ओमप्रकाश अर्यालसहित चारवटै सुरक्षा निकायका प्रमुखसँग शनिबार बालुवाटारमा गरेकी हुन् ।

मुलुकमा सुरक्षा अवस्थाको सूक्ष्म विश्लेषण गरी निर्वाचनको वातावरण बनाउने विषयमा छलफल केन्द्रित रहेको गृहमन्त्री अर्यालले जानकारी दिए । उनले सडकमा प्रदर्शनको तयारी गरिरहेका राजनीतिक दललाई संवादमार्फत आफ्ना माग राख्न पनि आग्रह गरिएको बताए ।

सरकारले संवादमार्फत राजनीतिक दलका मागको सुनुवाइ गर्ने भएकाले प्रदर्शन आवश्यक नभएको पनि गृहमन्त्री अर्यालले बताए ।

गृहमन्त्री ओमप्रकाश अर्यालको भनाइ पढ्नोस्–
खास गरेर यो सुरक्षा अवस्थाको सूक्ष्म विश्लेषण हो अहिले । स्थिति सामान्यीकरण गर्ने र अरू बाँकी चुनावको वातावरण बनाउनका लागि चाहिने शान्ति सुरक्षाको प्रत्याभूति दिने कुरामा नै केन्द्रित छौँ ।

आज विषयवस्तुको सूक्ष्म विश्लेषण भयो । र, खास गरेर सडक प्रदर्शनसँग सम्बन्धित विषयवस्तुहरू र त्यसले निम्त्याउने सुरक्षा जोखिमका बारेमा हामीले गहन छलफल गरेका छौँ । जसका पनि राजनीतिक मागहरू छन् भने सरकारले संवादको माध्यमबाट ती कुराहरू सुनिदिन्छ । अब संवादमा इन्गेज हुनुपर्‍यो सबै । किनभने, अब सडकमा जाने पनि सरकारलाई संवादको लागि अपिल गरेको हो । अब सडकमा नगई पनि संवाद हुन्छ भने संवादमा नै आउनुपर्छ ।

सडकमा जान जरुरी छैन । अब सडकमा जानुपर्ने परिस्थिति हुन्छ भने पनि त्यो लोकतान्त्रिक अधिकार प्रयोग गर्दा अरूको अधिकारमा हनन हुनु पनि भएन । सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउनु पनि भएन । निजी सम्पत्तिमा क्षति पुर्‍याउनु पनि भएन । कहीँ कतै हिंसा हुनै भएन ।

अहिंसात्मक तरिकाले गर्नुपर्दछ । यो कुराको सम्झदारी हामी विभिन्न राजनीतिक दलहरू जो आन्दोलनकारी हुनुहुन्छ, उहाँहरूसँग सरकारले यो अनुरोध गरिरहन्छ । सरकार यो नीतिअनुसार चल्छ तत्काललाई । जो राजनीतिक शक्ति छन्, त्यो शक्ति भनेको धेरै जिम्मेवार शक्ति हो । भविष्यमा देश चलाउने हो भनेर जसले भन्नुहुन्छ, त्यो भनेको राजनीतिक कुरा हो । राजनीतिक कुरा भएपछि राजनीतिक व्यवहार पनि हुनुपर्‍यो ।

राजनीतिक संस्कार पनि हुनुपर्‍यो । त्यसको बोध पनि गराउनुपर्‍यो । सरकार एउटा अभिभावक पनि हो । सरकारले त्यो कुराको बोध गराउँछ । त्यसका लागि हामी संवादमा नै जोड दिन्छौँ ।