Logo ८ कार्तिक २०८२, शनिबार | Sat Oct 25 2025


नुम्बुर हिमालको पहिलो पटक सफल आरोहण


299
Shares

सन्तोष राउत
सोलुखुम्बु ।
सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर १ मा अवस्थित नुम्बुर हिमालको पहिलो पटक सफल आरोहण भएकाे छ ।

प्रसिद्ध धार्मिकस्थल दूधकुण्ड पाेखरीको शिरमा रहेको छ हजार नौ सय ५८ मिटर अग्लो नुम्बुर हिमाल आरोहणका लागि गएको टोलीले १५ घण्टाको प्रयासपछि चुचुरोमा पाइला टेक्दै इतिहास रचेको हो । सेभेन समिट ट्रेक कम्पनी मार्फत हिमाल आरोहणका लागि गएको तीन सदस्यीय विदेसी टोलीले नुम्बुर हिमालको सफल आरोहण गरेको हो ।

सेभेन समिटका कर्मचारी कर्मा छिरिङ शेर्पाका अनुसार पोल्याण्डका नागरिक आडम, जर्मनीका फोलिक्स र इटालियन नागरिक हर्भले आरोहण सफल गरेर फर्किएका हुन् । सोलुदूधकुण्ड नगरपालिकाको पहलमा पर्यटन विभागले पछिल्लो समय नेपालका केही हिमाल आरोहणका लागि खुला गर्दा नुम्बुर हिमाल पनि खुला भएको थियो । यससँगै नुम्बुर हिमालमा पाइला टेक्ने पहिलो आरोहीको नाम इतिहासमा दर्ज भएको छ ।

हिमालको सफलतापूर्वक आरोहण गरेपछि वडाध्यक्ष छोङ्बा शेर्पा लगायत स्थानीय पर्यटन व्यवसायीले स्वागत गरेका छन् । नुम्बुर आरोहण सफल भएसँगै पर्यटनमा नयाँ ढोका खोलिएको नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले बताउनुभयो । यस अघि सन १९६३ मा जापानी आरोहण दलका आरोहीहरूले आरोहणको प्रयास गरेको भएपनि उक्त प्रयास असफल भएको स्थानीय जानकारहरूले बताएका छन् ।

यस्तै दोश्रो पटक १९८१ मा फ्रान्सेली आरोहण दलका सदस्यहरूले समेत आरोहणको प्रयास गरेका थिए भने उनीहरू पनि असफल भएका थिए । तर पछिल्लो पटक गएको दुई वटा आरोहण टोली मध्ये एउटा टोलीले सफल आरोहण गरेको छ ।
फोटोः नुम्बुर हिमाल आरोहण टोली ।