Logo ९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026


कांग्रेसकाे केन्द्रीय समितिको म्याद थप्न हुँदैन: विशेष महाधिवेशन पक्षधर


312
Shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले केन्द्रीय समितिको म्याद थप्न नहुने बताएका छन्।

काठमाडौंमा आइतबार केन्द्रीय सदस्य गुरु घिमिरे र मनोजमणि आचार्य लगायतले पत्रकार सम्मेलन गर्दै केन्द्रीय समितिको म्याद थपिने आशंका गर्दै त्यसो गर्न नहुने बताएका हुन्। पत्रकार सम्मेलनमा बोल्दै नेता आचार्यले समयमा नियमित महाधिवेशन नगर्ने र केन्द्रीय कार्यसमितिको म्याद थप्न खोजिएको आरोप लगाउनुभयाे ।

उहाँले भन्नुभयाे,-‘ गत असोज २८ देखि प्रारम्भ भएको केन्द्रीय कार्यसमितिको बैठक विनाकारण लम्ब्याउने, ढिला गर्ने र आगामी बैठक छठपछि अर्थात् कात्तिक १३ पछि मात्र डाकिएको र कहिले सकिने समेत टुङ्गो नभएकाले वर्तमान कार्यसमितिको मनसाय नै समयमा नियमित महाधिवेशन नगर्ने र केन्द्रीय कार्यसमितिको म्याद थप्नतर्फ उद्धत रहेको प्रष्ट देखिन्छ । वर्तमान केन्द्रीय कार्यसमितिको यस्तो प्रवृत्ति आपत्तिजनक छ।’

राष्ट्रिय राजनीति अत्यन्त तीव्रताका साथ अगाडि बढिरहेको बेला बिलम्ब गर्ने, अल्मलिने र पार्टीको नयाँ नेतृत्व चयन गर्न ढिलाइ गर्ने छुट नभएको उहाँकाे भनाइ छ। नेता आचार्यले आगामी फागुन २१ गते नेपाल सरकारबाट घोषित प्रतिनिधि सभाको निर्वाचन अगावै पार्टी महाधिवेशन मार्फत नयाँ नेतृत्व चयन गरी आगामी चुनावमा जानुपर्नेमा जाेड दिनुभयाे।