Logo १ कार्तिक २०८२, शनिबार | Sat Oct 18 2025


सरकार र राजनीतिक दललाई खबरदारी गर्न बौद्धिक अगुवासँग राष्ट्रपति पौडेलकाे आग्रह

ताेकिएकै समयमा आगामी निर्वाचन नभए थप संवैधानिक र राजनीतिक संकट आउने चिन्ता

975
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बौद्धिक समुदायका अगुवाहरूलाई सरकार र राजनीतिक दलहरूलाई खबरदारी गर्न आग्रह गर्नुभएकाे छ।

राष्ट्रपति कार्यालय शीतल निवासमा शनिबार राष्ट्रपति पौडेलले बौद्धिक समुदायका ११ जना अगुवाहरूसँगकाे छलफलका क्रममा यस्ताे आग्रह गर्नुभएकाे हाे। छलफलमा सहभागीहरूका अनुसार राष्ट्रपति पाैडेलले दलहरूलाई आगामी फागुन २१ गतेका लागि निर्धारण भएको निर्वाचनमा जानका लागि र सरकारलाई समयमै निर्वाचन गर्न तथा जनता र जेनजी पुस्ताको भवना अनुसार सरकार सञ्चालन गर्न खबरदारी गर्न आग्रह गर्नुभएकाे हाे।

छलफलमा सहभागी राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले शनिबार बिहान ९ देखि साँढे १० बजेसम्म चलेको छलफलमा राष्ट्रपति पौडेलमा निर्धारित समयभित्रै प्रतिनिधि सभाको निर्वाचन नभए थप संवैधानिक र राजनीतिक संकट आउने चिन्ता देखिएको बताउनुभयाे।

छलफलमा सहभागीहरू सबैले आ-आफ्नो धारणा राखेका थिए । संकटको घडिमा राष्ट्रपतिबाट निर्वाह भएको भूमिकाको सह्राना गर्दै आगामी दिनमा पनि संविधानको दायरामा रहेर थप प्रभावकारी भूमिका निर्वाहका लागि आफूहरूले अपेक्षा गरेको बौद्धिक समुदायका अगुवाहरूको भनाइ थियो ।

राष्ट्रपति पौडेलले छलफलका लागि त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा, राजनीतिक शास्त्रीहरू लोकराज बराल, कृष्ण खनालसँगै हरि शर्मा, गेजा शर्मा वाग्ले, इन्द्र अधिकारी, मुमाराम खनाल, केशव दाहाल, तुलानारायण साह, कसमस विश्वकर्मा र उद्धव प्याकुरेललाई बोलाउनुभएकाे थियाे।