Logo ३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025


‘जनादेशमा जान तयार छौं, तर सरकार निर्वाचन गराउने पक्षमा छैन’: नेकपा एमाले

सरकारले निर्वाचनकाे वातावरण बनाउन सरोकारवालासँग सहकार्य नगरेमा थप समस्या हुने चेतावनी

585
Shares

काठमाडौं । निर्वाचन आयोगले बिहीबार आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई लिएर विभिन्न राजनीतिक दलहरूसँग छलफल गरेको छ।

साेही छलफल र अन्तरक्रिया कार्यक्रममा नेकपा एमालेले सुशील कार्की नेतृत्वको वर्तमान सरकारको कडा आलोचना गरेको हाे। एमालेले छलफल कार्यक्रममा वर्तमान सरकारले निर्वाचनको वातावरण तयार पार्न कदम नचालेको जनाएको छ । एमालेका उपाध्यक्ष गुरु बरालले बरू सरकार निषेधात्मक गतिविधिहरूतर्फ अघि बढेको समेत दावी गर्नुभयाे ।

उपाध्यक्ष बराल र निर्वाचन विभाग प्रमुख निरज आचार्यसहित पुगेका नेताहरूले यो सरकार दलहरूविरुद्ध नियोजित रुपमा लागेको निचोड आयोगमा सुनाएका छन् । एमालेले कार्की नेतृत्वको सरकारविरुद्ध विभिन्न आरोपसहित ७ बुँदे धारणा आयोगमा राखेको छ। उपाध्यक्ष गुरु बरालले भन्नुभयाे,-‘निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरणमा सबै दल सहभागी नहुन्जेल निर्वाचनको सार्थकता मिल्दैन। अवरुद्ध र असंवैधानिक गतिविधि भइरहेको अवस्थामा एमाले जनतामा पुगेर म्यान्डेट पुनः सक्रिय गर्ने विकल्पसमेत विचार गर्न तयार छ।’

निर्वाचन विभाग प्रमुख निरज आचार्यले पनि निर्वाचनमा जाने कुरामा पार्टीको सचेत र दृढ विचार रहेको बताउनुभयाे । एमालेले निर्वाचन आयोगसँगको छलफललाई सकारात्मक भने पनि सरकारले निर्वाचनकाे वातावरण बनाउन सरोकारवालासँग सहकार्य नगरेमा थप समस्या हुने चेतावनी समेत दिएको छ ।