Logo ३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025


संसद पुनःस्थापनाको बाटोमा लाग्नु हुँदैनः राजेन्द्र श्रेष्ठ


637
Shares

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठले संसद पुनःस्थापनाको बाटोमा लाग्न नुहने बताउनुभएको छ ।

निर्वाचन आयोगले बिहीबार दलहरुसँग आयोजना गरेको छलफलमा सहभागी भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जेनजी आन्दोलनको जनादेशलाई कुल्चिएर फेरि संसद पुनःस्थापनाको बाटोमा लाग्न नहुनेमा जोड दिनुभयो । सरकारले घोषणा गरेको आगामी फागुन २१ गते हुने निर्वाचनलाई सफल रुपमा सम्पन्न गर्न सबै लाग्नुपर्ने उहाँको भनाइ छ ।

अध्यक्ष श्रेष्ठले वर्तमान सरकार संविधानसम्मत नभई आवश्यकताको सिद्धान्तको आधारमा बनेको पनि बताउनुभयो । वर्तमान सरकार र आगामी फागुन २१ गतेको निर्वाचन प्रमुख राजनीतिक दलहरुको सहमतिकै आधारमा बनेकोले विवाद गरेर बस्न आवश्यक नभएको उहाँको भनाइ छ।

उहाँले भन्नुभयो,- ‘खासगरी अहिलेको यो सरकार संविधानसम्मत ढंगले बनेको होइन । तर यो चाहीं आवश्यकताको सिद्धान्तअनुसार जेनजी आन्दोलनको जनादेशलाई सम्बोधन गर्नको लागि प्रमुख दलहरुको सहमतिमा बनेको सरकार भएको । स्वयं प्रधानमन्त्री पनि सहमतिमा बनेको र निर्वाचनको मिति पनि सहमतिमा नै घोषणा भएको हुँदा खेरी अब यसमा चाहीँ दुविधा पाल्नुपर्ने कुनै आवश्यकता छैन भन्ने कुरा हाम्रो पार्टीलाई लागेको छ । यद्यपि अहिले फेरि पनि प्रतिनिधिसभा पुनःस्थापनाको लागि मुद्दाहरु गएका छन् । अब मुद्दाले के गर्छ भन्ने कुरा पनि बहस त हुने नै भयो । तर अहिले जुन आन्दोलनको जनादेश छ, यो आन्दोलनको जनादेशलाई कुल्चिएर फेरि पुनःस्थापनाको बाटोमा लाग्न हुँदैन । अब घोषित निर्वाचनलाई सफलताको साथ सम्पन्न गुर्नपर्छ ।’

अध्यक्ष श्रेष्ठले राष्ट्रिय सभा सदस्य रिक्त हुन लागेकोले राष्ट्रिय सभाको निवार्चन पनि समयमै गर्नुपर्ने बताउनुभयो ।