Logo २४ आश्विन २०८२, शुक्रबार | Fri Oct 10 2025


जेन-जी आन्दोलन : कुल बीमा दाबी रकम २३ अर्ब २२ करोड


728
Shares

काठमाडाैं । जेन-जी आन्दोलनबाट क्षतिको कुल बीमा दाबी रकम २३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।

हालैको आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकम बुधवारसम्ममा सबै निर्जीवन बीमा कम्पनीमा गरी करिव २३ अर्ब २२ करोड ८७ लाख पुगेको हो ।

नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कुल ३ हजार ९९ वटा बीमा दाबी परेको छ ।

प्राधिकरणकाअनुसार निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल दाबी रकममध्ये बुधवारसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव १ अर्ब २९ करोड १९ लाख भुक्तानी भएको छ ।

निर्जीवन बीमा कम्पनीहरूले क्षतिको सर्भे प्रतिवेदन तयारीका लागि २ हजार ७ सय ६ जना सर्भेयर खटाएको र हालसम्ममा सर्भेयरहरूले ३ सय ७४ को संख्यामा सर्भे प्रतिवेदन पेश भएको छ । सरकारले पनि क्षतिको प्रारम्भिक आँकलन गरिसकेको छ ।

गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा देशभर करिव एक खर्ब ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । यो आँकडा सार्वजनिक र निजी क्षेत्रको प्रारम्भिक अध्ययनको हो । आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट तथा आगजनीका कारण धेरै क्षति देखिएको छ ।

आन्दोलनका क्रममा सबैभन्दा धेरै सार्वजनिक सम्पत्तिमा मात्रै एक खर्ब रुपैयाँ बराबरको क्षति भएको छ । तर निजी कम्पनीहरुले आफ्नो सम्पतीको बीमा गराउने गरेपनि सरकारी सम्पतीको खासै नहुँदा सरकारी सम्पत्ति ठूलो मात्रामा गुमेको छ ।