
काठमाडौं । इजरायल र हमासबीच अमेरिकी पहलमा भएको युद्धविराम सम्झौता पश्चात् पहिलो चरणमा मुक्त गरिने २० जना युद्धबन्दीको सूची सार्वजनिक भए पनि नेपाली विद्यार्थी विपिन जोशीको नाम नरहेको पुष्टि भएको छ।
यसले उनको अवस्थाबारे थप अन्योल सिर्जना गरेको छ। कञ्चनपुरका विपिन जोशी गत अक्टोबर ७ मा हमासद्वारा इजरायलको किबुत्ज क्षेत्रमा भएको आक्रमणमा बन्धक बनाइएका थिए। सो घटनामा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने विपिनको अवस्थाबारे हालसम्म कुनै ठोस जानकारी सार्वजनिक भएको छैन।
हालै हमासले मुक्त गर्ने भनिएका ५० युद्धबन्दीमध्ये पहिलो चरणमा सोमबारभित्र २० जनालाई रिहा गरिने बताइएको छ। तर, इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले सार्वजनिक सूचीमा सबै इजरायली नागरिक रहेको र विपिनको नाम नरहेको जानकारी दिनुभएको छ।
सन् २०२३ नोभेम्बर १७ मा विपिन जोशीलाई गाजाको अल शिफा अस्पतालमा देखिएको खबर सार्वजनिक भए पनि त्यसयता उनको अवस्थाबारे कुनै पुष्टि हुन सकेको छैन। पछिल्लो समय बाहिर आएको ३३ सेकेन्डको भिडियोसमेत पुरानै भएको राजदूत पण्डितले बताउनुभएको छ।
राजदूत पण्डितका अनुसार विपिनको अवस्थाबारे जानकारी लिन इजरायली अधिकारीहरूसँग लगातार सम्पर्क भइरहेको छ। उहाँले भन्नुभयो, ूअहिलेसम्म विपिनको जीवनको अवस्था स्पष्ट छैन। आशा गरिरहेका छौं कि चाँडै केही जानकारी प्राप्त हुनेछ।
परराष्ट्र मन्त्रालयका स्रोतले इजरायल सरकारको तर्फबाट विपिनको ूजुनसुकै अवस्थाू को सूचना आउन सक्ने संकेत गरिएको भन्दै परिवारलाई मानसिक रूपमा तयार रहन भनिएको जानकारी दिनुभएको छ । यो खबरले विपिनको परिवारमा थप चिन्ता र तनाव थपेको छ।
सरकारी निकायहरू विपिनको अवस्थाबारे यथासक्य चाँडो जानकारी प्राप्त गर्न सक्रिय रहेको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्