Logo २२ आश्विन २०८२, बुधबार | Wed Oct 8 2025


बाढीपहिरो कहर : सडकको पुनर्निर्माणमा १२ अर्ब लाग्ने अनुमान


130
Shares

काठमाडौं ।

असोज १८, १९ र २० गते र त्यसअगाडिको बाढीपहिरोका कारण क्षति पुगेका सडकको पुनर्निर्माणका लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको मनसुनजन्य विपद्बाट क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि १० अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमान गरेको हो । गत वर्षको विपद्बाट क्षति पुगेका संरचना पुनर्निर्माणका लागि एक अर्ब ७० करोड रुपैयाँ लाग्ने र ती सडकको पुनर्निर्माण कार्य बाँकी नै छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले बाढीपहिरोबाट क्षति पुगेर अवरुद्ध भएका सडक सञ्चालन उच्च प्राथमिकतामा राखी मातहतका निकायले काम गरिरहेको बताए ।

अवरुद्ध सडक सञ्चालन जतिसक्दो छिट्टो सञ्चालनका लागि उपकरण र जनशक्ति परिचालन गरिएको र कामको मन्त्रालयकातर्फबाट नियमित अनुगमन भइरहेको मन्त्री घिसिङले जानकारी दिए ।

यस वर्षको मनसुनजन्य विपद्बाट सबैभन्दा बढी क्षेति मची राजमार्गमा पुगेको छ । मेची राजमार्गको पुनर्निर्माणका लागि डेढ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

क्षति भएका कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति, नारायणघाट–मुग्लिङलगायत राजमार्गको पुनर्निर्माणका लागि झण्डै तीन अर्ब ७७ करोड रुपैयाँ लाग्ने अनुमान छ ।

क्षति पुगेका १७ वटा स्थायी पुल पुनर्निर्माणमा चार अर्ब ५२ करोड रुपैयाँ लाग्ने अनुमान छ । क्षति पुगेका र सडक सञ्चालनका लागि राख्नु पर्ने नयाँ बेलिब्रिजका लागि ८० करोड रुपैयाँ लाग्ने अनुमान छ । वैकल्पिक सडक पुनर्निर्माणका लागि एक अर्ब ५९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।