१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


अमेरिकामा अन्धाधुन्ध गोलीकान्ड, चारजनाको मृत्यु


0
Shares

एबरडीन, असोज ५ । अमेरिकाको मेरिल्यान्डस्थित एक औषधि भन्डारगृहमा कार्यरत् एक महिलाले आफ्नै सहकर्मी साथीहरुमाथि अन्धाधुन्ध गोली चलाउँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।

गोली चलाउने महिलाले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

औषधिको गोदामघरमा सहकर्मीहरुबीच विवाद बढ्दै गएपछि बिहीबार बिहान गोली चलेको थियो । उक्त घटनामा अरु तीनजना गम्भीररुपमा घाइते भएका छन् ।

स्थानीय प्रहरी अधिकारी जेफ्री गाहलरले बाल्टीमोर निवासी स्नोचिया मोसेलीले चलाएको अन्धाधुन्ध गोलीबाट तीनजनाको मृत्यु भएको र केही घाइते भएको जानकारी दिए ।

प्रहरीले उक्त गोलीकान्ड हुनुको मुख्य कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।

ती महिला स्वयंले आत्महत्या गरेकाले जवाफमा गोली नचलाएको प्रहरीले स्पस्ट गरेको छ ।

विगत दुई दिनभित्रै संयुक्तराज्य अमेरिकामा भएको यो तेस्रो ठूलो गोलीकान्ड हो ।

बुधबार पनि विस्कन्सिन राज्यमा अन्धाधुन्ध गोली चलाउँद तीनजना गम्भीर घाइते भएका थिए ।

पेन्सिलभेनियामा भएको एक अर्को घटनामा एक व्यक्तिले चलाएको गोली लागेर एकजनाको मृत्यु हुनुका साथै चारजना घाइते भएका थिए । रासस/एपी