
काठमाडाैं । प्रत्येक वर्षकाे महानवमी पर्वका अवसरमा मात्र खुला गरिने हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिरमा बुधबार बिहानैदेखि भक्तजनहरु पूजा आराधनाका लागि पुगेका छन् ।
हनुमान ढोकास्थित तलेजु भवानीको मन्दिर बुधबार सर्वसाधारणका लागि खुला गरिएको हो। वर्षमा एक पटक महानवमीको दिनमा मात्र सर्वसाधारणका लागि खुला गरिने तलेजु भवानीको मन्दिरमा पूजा आराधनाका लागि भक्तजनहरु पुगेका हुन् । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन आम सर्वसाधारणका लागि मन्दिर खुला गरिने परम्परा अनुसार बुधबार सोही अवसरमा मन्दिर खुला गरिएको हो ।
तलेजु मन्दिरमा ३ सय ६४ दिनमा दैनिक नित्य पूजा हुन्छ र एक दिन सर्वसाधारणको पूजाका लागि खोलिन्छ । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मुल चोकमा ल्याइएको थियो । तलेजु भवानीलाई विजया दशमीका दिन बिहानमात्र मुल मन्दिरमा फर्काइने प्रचलन छ । विजया दशमीसम्म तलेजु भवानीलाई यहीं राखेर पूजा आराधना गरिन्छ ।
विजया दशमीका दिन समितिले साइत अनुसार यात्रा गराइनेछ । तलेजु भवानीको दर्शन गर्न पुग्नुभएका भक्तजनहरु आफ्नो आस्थाका कारण पूजा गर्न पुगेको बताउँछन् । यस वर्ष विगतको तुलनामा भक्तजनहरु केही कम भएकाले सहजै दर्शन गर्न पाएको बताएका छन् । शक्तिशाली देवी भएकाले पूजा आराधना गर्दा राम्रो हुने भएकाले पूजाका लागि आएको उनीहरुकाे भनाइ छ।
मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्ववका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबली पनि दिने गरिन्छ ।










प्रतिक्रिया दिनुहोस्