Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


नवरात्रको सातौँ दिन: आज कालरात्रि देवीको पूजा गरिँदै


221
Shares

काठमाडाैं । बडादसैँको अवसरमा आज सप्तमी अर्थात् फूलपाती पर्व मनाइँदै छ। यस दिन शक्तिस्वरूपा भगवतीको सातौँ रूप माता कालरात्रिको पूजा आराधना गर्ने परम्परा रहेको छ।

कालो वर्ण, गधा वाहन, तीन आँखा र चार हात भएकी कालरात्रि देवीले क्रमशः तरबार, मसाल, वरमुद्रा र अभयमुद्रा धारण गरेकी छिन्। उनको स्वरूप डरलाग्दो भए पनि भक्तजनलाई शुभ फल दिने भएकाले उनलाई ‘शङ्करी’ नामले पनि चिनिन्छ। मान्यता अनुसार, देवी कालरात्रिको स्मरण गर्दा दानव, दैत्य, राक्षस, भूतप्रेत भाग्ने विश्वास गरिन्छ।

शास्त्रीय विश्वासअनुसार, सप्तमीका दिन देवी कालरात्रिको आराधनाले भक्तजनलाई साहस, धैर्य र आत्मविश्वास प्रदान गर्छ। साथै, जीवनका समस्याहरू समाधान गर्ने शक्ति प्राप्त हुने तथा शत्रु नाश हुने भनाइ छ। यस दिन देवीलाई सख्खर अर्पण गर्ने र गरिबलाई दान गर्ने परम्परा छ, जसले दरिद्रता निवारण हुने विश्वास गरिन्छ।

कृत्यतत्वार्णमा फूलपातीका लागि नौ प्रकारका पत्रिका—केरा, काली बेसार, हलेदो, जयन्ती, बेल, अनार, अशोक, मानेकर्कलो र धानको उल्लेख गरिएको छ। पूजामा रातो–निलो वस्त्र, रातो फूल तथा नैवेद्य अर्पण गरिन्छ।

यसै दिन सरस्वती माताको पनि आराधना गरिन्छ। साथै गोरखा दरबारबाट काठमाडौँ दरबारमा फूलपाती ल्याउने ऐतिहासिक परम्परा पनि आजकै दिनसँग सम्बन्धित छ।

Skip This